images
images

कटारी–घुर्मी र कटारी–गाईघाट सडकखण्ड पहिरोका कारण अवरुद्ध

ऋषि राई
भदौ , ८ , शुक्रबार , २०८०
कटारी /उदयपुरमा वर्षापछी आएको पहिरोका कारण शुक्रबार विहानैदेखि दुईवटा राजमार्ग अवरुद्ध भएका छन् । पहिरोका कारण मदनभण्डारी राजमार्ग अन्र्तगत उदयपुरगढी , ६ मौवासी खोला पुलसँगै रहेको भित्ता खसेर पहिरो गएपछी कटारी–गाईघाट सडकखण्ड अवरुद्ध भएको छ ।
त्यसैगरी सिद्धिचरण राजमार्ग अन्र्तगत कटारी –घुर्मी सडकखण्ड पनि शुक्रबार विहानैदेखि अवरुद्ध छ । राजमार्ग अन्र्तगत कटारी नगरपालिका वडा नम्बर ११ को वेतेनीदेखि वडा नम्बर १४ को लेखानी खण्डमा विभिन्न स्थानमा पहिरो गएपछी सडक अवरुद्ध भएको हो ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीका अनुसार दुवै राजमार्ग शुक्रबार वेलुकासम्म अवरुद्ध नै छ । ‘अविरल वर्षा भएकाले अवरुद्ध सडकको पहिरो हटाउन पनि समस्या भईरहेको छ ।’उपरीक्षक कार्कीले भन्नुभयो ‘वर्षाले मानवीय क्षति नपुराएपनि जनजीवन प्रभावित पारेको छ ।’
मदन भण्डारी राजमार्गको मौवासी खोलासँगैको पहिरो एकसाता अघि पनि पहिरोकै कारण दुईदिन अवरुद्ध भएको थियो । सडकसँगैको पाखो नै सडकमा झरेकाले सडक अवरुद्धहुँदा कोशी प्रदेशका पूर्वी क्षेत्रबाट राजधानी लगायतका पश्चिम क्षेत्रमा जाने यात्रुहरु समस्या पर्ने गरेका छन् ।
पहिरो गएपछी प्रहरीले पूर्वबाट आएका सवारीलाई गाईघाटबाट लहानहुँदै र पश्चिमबाट आएका सवारीलाई कटारीबाट मिर्चैयाहुँदै आउजाउ गराउने गरेको छ । त्यसैगरी शुक्रबार विहानदेखि अवरुद्ध सिद्धिचरण राजमार्गमा आधादर्जन वढी स्थानमा पहिरो गएको छ ।
मिर्चैया –कटारी –घुर्मी सडक योजनाको कार्यालय कटारीका सूचना अधिकारी मनोज कुमार मण्डलका अनुसार कटारी–घुर्मी सडकखण्डमा आधादर्जन स्थानमा पहिरो गएको छ । ‘ छ सात ठाउँमा पहिरो गएको छ कार्यालयले पहिरो हटाउने काम गरिरहेको छ । ’उहाँले भन्नुभयो ‘लेखानी क्षेत्रको पहिरो हटाईसकेपनि अन्य स्थानका पहिरोहरु हटाउने क्रम जारी छ । ’
अधिकारी मण्डलका अनुसार वर्षाले सडकका पहिरो हटाउन समेत समस्या भएको छ । कार्यालयले सवै स्थानमा पहिरो हटाउन जनशक्ति खटाएको छ । पहिरो गएपछी तराईबाट पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्ग आउजाउ गर्ने सवारीसाधनहरु वीच सडकमै अलपत्र परेका छन् ।
बिहिबार वेलुकीदेखि अविरल वर्षा जारी छ । वर्षापछी आएको कटारी –मिर्चैया खण्डको सिद्धिचरण राजमार्गका खहरेहरुको बाढीले पनि आउजाउ प्रभावित पारेको छ । ताराघारी,गिद्धाबर,सिमानपुर खहरेको बाढीले शुक्रबार आउजाउमा समस्या पारेको थियो । त्यसैगरी जनजीवन प्रभावित पार्नुका साथै पहाडी भेगमा स्थानीयहरुको गोठहरु भत्केको खबर आएपनि थप जानकारी आउन बाँकी रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक रविन कार्कीले बताएउनुभयो ।