जन्ताभ्वाईस सम्वाददाता
१ भदौ , शुक्रबार , २०८०
कटारी /पूर्व परराष्ट्र मन्त्री, उदयपुरको क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.नारायण खड्काले कटारी स्थित त्रिवेणी माविलाई आवश्यक भवन र दुई वटा स्कूल वस उपलब्ध गराउन पहल गर्ने प्रतिवद्धता जनाउनुभएको छ । शुक्रबार विद्यालयले राखेको भेटभाट कार्यक्रममा वोल्दै डा.खड्काले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
विद्यालयले माग गरेको भवन र स्कूल वसका लागि आवश्यक डिजाईन , प्रपोजल लिएर आउन आग्रह गर्दै डा.खड्काले त्यसका लागि आफुले सहयोग गर्ने बताउनुभयो । त्यसैगरी सिद्धिचरण राजमार्गको स्तरउन्नती , कटारी अस्पत्ताललाई प्रादेशिक अस्पत्तालमा विकास गर्ने , यहाँको नदी कटानको नियन्त्रण , बजारमा सडक चौडा गर्ने लगायतका समस्याबारे पनि आवश्यक छलफल गरी सम्बन्धित निकायमा कुरा राख्न सरोकारवालाहरुलाई डा.खड्काले काठमाडौं आउन आग्रह गर्नुभयो ।
कार्यक्रममा वोल्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले कटारी नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । नगरपालिका सवैले महशुस गर्न सक्ने सरकार भएकाले नगरका सवै विद्यालयको स्तरउन्नती नगरको जिम्मामा रहेको मेयर श्रेष्ठको भनाई थियो ।
नगरभित्रका विद्यालयहरुमा निशुल्क शिक्षा उपलब्ध गराउने र कटारी नगर अस्पत्तालमा निशुल्क उपचार गराउनका लागि नगरले छलफल गरिहेको पनि मेयर श्रेष्ठले बताउनुभयो । त्यसैगरी उदयपुरकै वेलका नगरपालिकाका मेयर अशोक कार्कीले त्रिवेणी मावि राम्रो वातावरण भएको विद्यालय रहेकाले यसलाई थप विकास गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैगरी कटारी नगरपालिकाका सामाजिक विकास शाखाका संयोजक तथा वडा नम्बर ७ का अध्यक्ष सुविन ढुंगाना , वडा नम्बर ४ का अध्यक्ष भूपेन्द्र सिंह तामाङ्गले विद्यालयको वर्तमान अवस्थामा छात्रावास भवन , विद्यालय वसको आवश्यकता रहेकाले सहयोग गर्न आग्रह गरेका थिए । त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणीराज दाहालले नगरपालिकाले यस वर्ष निशुल्क विज्ञान संकाय अध्ययन गराउने वातावरण तय गरेकाले यसको थप विकास भएकाले नगरपालिकालाई धन्यवाद दिनुभयो ।
त्यसैगरी शिक्षक अभिभावक संघका अध्यक्ष मोहन कोईरालाले विद्यालयलाई धेरैले योगदान दिएकाले डा.खड्काले पनि यसलाई योगदान दिनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।कार्यक्रममा वोल्दै प्रधानाध्यापक वालकृष्ण कार्कीले यस क्षेत्रकै नमुना र गुणस्तरीय अध्ययन भईरहेको विद्यालयमा भवन , स्कूल वस आवश्यक रहेकाले डा.खड्कासँग माग गर्नुभयो । त्यसैगरी एक विद्यालय एक नर्श कार्यक्रममा पनि विद्यालयलाई राख्न प्रअ कार्कीले आग्रह गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधिहरु , राजनीतिक दलका प्रतिनिधिहरु , विद्यालयसँग सम्बन्धित सरोकारवालाहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।


जनता भ्वाइस 







