जन्ताभ्वाईस सम्वाददाता
२६ साउन , शुक्रबार , २०८०
कटारी / एकवर्ष अघि कटारी नगरपालिकाले खेलकुद विकास समिति गठन गरेपनि समितिलाई नगरपालिकाले वेवास्ता गरेको खेलाडीहरुको गुनासो छ । समिति गठन भएको एकवर्ष भएपनि हालसम्म कार्यालय व्यवस्थापन समेत गर्न नसकेको समितिका अध्यक्ष दिपक तामाङ्गले बताउनुभयो ।
नगरपालिकाले खेल क्षेत्रलाई बजेट निर्माण गर्ने बेला समेत समितिसँग छलफल नगरेको पनि समितिका अध्यक्ष तामाङ्गले बताउनुभयो । समितिका उपाध्यक्ष राजकुमार थापाले खेलकुदका योजना बारे नगरपालिकाले समितिसँग कहिले छलफल नगरेको बताउनुभयो ।
कटारीबाट विभिन्न स्थानमा प्रतियोगिताहरुमा सहभागि हुन खेलाडि हरुले चन्दा उठाउनुपर्ने अवस्था रहेको उपाध्यक्ष थापाको भनाइ छ । गत साल खेलकुदका लागि छुट्याइएको बजेट समेत फ्रीज हुँदा पनि समितिसँग नगरपालिकाले समन्वय नगरेको खेलाडिहरुले गुनासो गरेका छन ।
गुनासो सुन्दै नगरपालिकाका उपमेयर गिता खड्काले कार्यालय व्यवस्थापन नगरपालिकाले गरिदिने बताउनुभयो । वडा बाट समेत युवा लक्षित कार्यक्रम निर्माण गरि सञ्चालन गर्न सकिने उपमेयर खड्काको भनाई थियो ।
खेलाडिहरुलाई खेलकुदमा सहभागिता जनाउन कोष निर्माण गरि समितिको निर्णय अनुसार खर्च गर्न सक्ने व्यवस्था गर्ने पनि उपमेयर खड्काले बताउनुभयो । कार्यालय व्यवस्थापन समेत नभएका कारण समितिको वैठक तथा अन्य कृयाकलापहरु समेत गर्न नसकेको समितिको पदाधिकारीहरु बताउँछन् ।


जनता भ्वाइस 








