-भावना थापा
२२ साउन , सोमबार , २०८०
कटारी /कटारी , ४ स्थित त्रिवेणी नमुना माविमा विज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई कटारी नगरपालिकाले निशुल्क पढाउने भएको छ ।यसै शैक्षिक सत्रदेखि पहिलो पटक कक्षा ११ बाट विज्ञान संकाय पढाउन सुरु गरेको विद्यार्थीहरुलाई नगरपालिकाले निशुल्क पढाउने भएको हो ।
विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीका अनुसार विद्यालयमा विज्ञान संकायको पहिलो वर्ष कक्षा ११ मा २५ विद्यार्थी भर्ना भएका छन् । विद्यालयले प्रवेश परीक्षा लिएर उत्तीर्ण भएका २५ जनालाई विज्ञान संकाय पढाउन सुरु गरेको हो ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठका अनुसार नगरपालिकाले नगरको गौरबको आयोजनामा राखेर आर्थिक वर्ष २०८०/८१ मा १५ लाख बजेट छुट्याउँदै विज्ञान संकाय पढाउने अनुमति दिएको हो । नगरपालिकाले नगरका १४ वटै वडा र अन्य विपन्न लगायतका विद्यार्थीहरुलाई छात्रवृत्तिमा पढाउने तयारी गरेको थियो ।
छात्रवृत्तिसँगै सवै विद्यार्थी निशुल्क अर्थात छात्रवृत्तिमा पढाउने मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । सोमबारदेखि विद्यालयको पठन पाठन समेत सुरु भएको प्रअ कार्कीले बताउनुभयो ।


जनता भ्वाइस 







