ऋषि राई
१८ साउन , विहिबार , २०८०
कटारी/ सिरहाको मिर्चैयामा उत्पादित सौर्य सिमेन्टको विज्ञापनको मूख्य नारा नै ‘उदयपुरको चुनढुंगा’रहेको छ । उदयपुरको सुनजस्तै चुनढुंगा भन्दै बजार पठाउने सिमेन्ट उद्योगका कारण उदयपुरको प्रभावित क्षेत्रका वासिन्दा भने पीडामा छन् ।
उद्योगले उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ स्थित आहालेबाट खानी उत्खनन् गरेको ५ वर्ष वित्दा प्रभावित क्षेत्रका स्थानीयसँग गरेको सहमति पुरा नगरेपछी स्थानीय आजित बनेका छन् । “पटक पटक लिखित भएका सहमति पनि कार्यन्वयन नगरेपछी हामी आन्दोलनमा उत्रन वाध्य भएका हौं ।”गडिकोट पर्यटन व्यवस्थापन समिति कटारी , ७ का अध्यक्ष सूर्य लामा भन्छन् । “केहि विचौलियालाई हातमा लिएर उद्योगले स्थानीयसँगको सहमतिलाई वेवास्ता गरिरहेको छ ।”
लामा नेतृत्वको समितिका साथै अन्य प्रभावित क्षेत्रका उपभोक्ता समिति , सामुदायिक वन उपभोक्ता समितिहरुले सहमति बमोजिमका माग पुरा नगरेको भन्दै गएको ५ असारमा नरगपालिका , स्थानीय प्रशासन तथा सरोकारवालाहरुलाई ज्ञाापन पत्र बुझाएर उत्खननस्थलदेखि चुनढुंगा ढुवानीमा रोक लगाएका छन् । स्थानीयको आन्दोलनका कारण कटारीको मूल सडकदेखि खानीसम्म जाने १४ किलोमिटर सडकमा ट्रिपर चलेका छैनन् ।
उद्योगका सिद्धिचरण , जय श्री र नेपाल माईनिङ्ग गरी तीन ढुवानी सप्लायर्सले कटारीमा रहेको डम्पिङ्गबाट मिर्चैयाको उद्योगसम्म ढुवानी गर्दै आएका छन् ।सिद्धिचरण राजमार्ग अन्र्तगतग गरिएको उक्त ढुवानीमा पनि स्थानीयले पटक पटक विरोध गर्दै आईरहेका छन् ।
कटारी , ८ स्थित उत्खनन क्षेत्र ।
प्रभावित क्षेत्रका स्थानीयले मर्जेतपुर सडक वर्षैपिच्छे २ सय मिटरका दरले ढलान गर्दै क्रमश ४ वर्ष भित्र ढलान गरिसक्ने , मर्जेतपुर विद्यालय देखि एनटिसी टावरसम्म ग्रावेल गर्ने र स्तरउन्नती गर्ने , सरस्वती आधारभुत विद्यालय भवनको निर्माण गर्ने , सडक आसपासका र सडकमा जग्गा परेका स्थानीयलाई उचित क्षतिपूर्ती दिनुपर्ने माग राखेको ५ वर्ष वितेपनि उद्योगले सुनुवाई नगरेको उनीहरुको गुनासो छ ।
स्थानीयको सडक उद्योगको कब्जामा
डेढदशकअघि स्थानीयले नुनतेल किनमेलका लागि कटारी बजारसम्म आउन जान सामुदायिक बन उपभोक्ता समुहको नेतृत्वमा सिम्ले–मर्जेतपुर सडक खनेका थिए । “हामीले पहिला चपरा लाईलाई ,वनको पैसा नहुँदा पनि आप्mनो लागि भनेर श्रमदानमा सडक खनेका थियौं ।”मर्जेतपुरका ५३ वर्षिय टंकबहादुर मगर भन्छन् ।“सौर्य कम्पनी आएर मुअब्जा दिन्छौं , धुलो धुँवा बारीको क्षति पुर्ति दिन्छौं भन्थे केहि गरेन् ”मगरले थपे “चपरा लाउने हामी अहिले त हामीले बनाको बाटो भनेर पेल्छ ।”
सिम्ले -मर्जेतपुर सडकबारे भनाई राख्दै स्थानीय टंकबहादुर मगर ।
उद्योगका लागि वातावरणीय प्रभाव मूल्याकंन गरिएको सडक कटारी ४ को मरुवाबाट आहालेसम्म हो । तर उद्योगले स्थानीयको बाटो प्रयोग गर्न पाएपछी उक्त बाटो बनाएको छैन् । १४ किलोमिटर भित्रको यस सडकखण्डमा स्थानीयको नम्बरी जग्गा समेत छ । सडकका कारण आसपास जग्गामा वालिनाली फल्नै छोडे । “घरमा वसेर भात खान सकिन्दैन् , अन्नपात फल्ने कुरा त परको भयो ।”स्थानीय तुलबहादुर मगरले भने “जे जे दिने भनेर हामीले दियौं अहिले केहि पनि नदिएपछी सडक रोक्न वाध्य भएका हौं ।”
मरुवाहरित , सरस्वती , कालीखाडी , मौरीढुंगा सामुदायिक वन क्षेत्रको सडकखण्डमा उद्योगले वन समेत मास्ने गरेको स्थानीय बताउँछन् । सडकमा चेकड्याम जाली लगाउने , नाला निर्माण गर्ने सहमति भएपनि उक्त सहमति उद्योगले पुरा गरेको छैन् । जसका कारण वनमा रहेको सडक छेउका रुखहरु वर्षेनी ढल्ने र आसपास पहिरो जाने गरेको छ ।
खोला मासियो , वस्तीमा पानी अभाव
उद्योगले ‘ए’‘बी ’र ‘सी ’गरी तीनवटा ब्लकबाट उत्खनन् गर्दैछ । जसमध्ये हालसम्म ‘ए’ र ‘बी ’मा उत्खनन् भईरहेको छ । उत्खनन् क्षेत्रसँगै स्थानीयको पिउने पानी , सिंचाईको मूल रहेको लल्लरी खोलाको मुहान अहिले मासिएको छ ।
मुहानमा उद्योगले सडक निर्माणका लागि ठूला ठूला बाँध लगाएको छ । जसका कारण पानीको मुहान सुकेपछी खोलाको किनारका टाँटरी , थलिया , बलौटेहुँदै बाहुनटार , रिस्कूसम्मै समस्या सुरु भएको छ । “पहिले पानी वग्ने खोलामा अहिले त ट्याक्टर कुद्ने भईसक्यो ”स्थानीय तुलबहादुर मगरले भने “खानीले आउने पानी पनि धमिलो आउँछ , पिउने कुरै भएन सिंचाई गर्ने खेतहरुमा लाने पानी खोलामा छैन् ।”
उत्खन्नका कारण लल्लरी खोलाबाट आएको धमिलो पानी ।
उत्खनन्बाट निस्किएका काम नलाग्ने माटो (डोलामाईड)ले खोला भरिएको छ । उक्त खोला तावाखोलामा आएर मिसिने भएकाले डोलामाईट तावाखोलासम्मै आउने क्रम जारी छ । त्यसैगरी डोलामाईट जथाभावी फाल्दा मरुवाखोलाको शिरबाट समेत खोलामा माटोको लेदो वग्न थालेको छ । यसले दर्जनबढी वस्तीका कृषकहरुलाई समस्या पार्दै जानेछ ।
वस्ती नै पहिरोको जोखिममा
मध्यवर्षामा समेत उत्खनन् जारी रहेको ‘ए’ब्लकको तल्लो भागमा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा छ । “माथि खनेको ढुंगा समेत गाउँमा झर्ने गर्छ , वस्ती छोडेर जान सकिन्दैन् ”टाँटरीका स्थानीय नरबहादुर मगर भन्छन् “वर्षा छ गाउँमाथिको टापुमा स्काभेटरले खनेको खन्यै छ निदाउन मुस्किल छ ।”
‘ए’ब्लक खानी कार्यालयका माईनिङ्ग ईन्चार्ज होमबहादुर वस्नेत मापदण्ड अनुसार उत्खनन् गरेकाले जोखिम नरहेको दावी गर्छन् ।“विभागको मापदण्ड बाहेक एकईन्च पनि तलमाथि गरेका छैनौं ।”उनले भने “वर्षामा उत्खनन् गर्न नमिल्ने भनेको नदीजन्यमा मात्रै हो ।”
खानी तथा भूगर्भ विभागका प्रवक्ता सुपरिटेण्डेट जियोलोजिष्ट मोनिका झा पनि वर्षामा उत्खनन् वन्द गर्ने भनेको स्थानीय निकायको अधिकारमा नदीजन्य वस्तुमा मात्र रहेको बताउँछन् । खानी उत्खनन् जहिले पनि गर्न मिल्ने झाको भनाई छ ।खानी उत्खनन्सँगै लल्लरीखोला रहेपनि स्थानीय सरकारले यसको विषयमा चासो नदिएको स्थानीयको आरोप छ ।
विद्यालयको छानोमा ठक्कर दिंदै हिंड्छन् ट्रिपर
मर्जेतपुरमा रहेको सरस्वती आधारभूत विद्यालयको परिसरबाटै सडक जान्छ । यस सडकअन्र्तगत उद्योगका तीनसय बढी ट्रिपर आउजाउ गर्दा विद्यालयमा पठन पाठन गराएको विद्यार्थीले सुन्ने अवस्था छैन् । विद्यालय भवन बनाईदिने प्रलोभन दिएको उद्योगले सहमति कार्यान्वयन गरेको छैन् । वर्षमा शिक्षक शिक्षिकाका लागि भनेर १ लाख ५० हजार दिने गरेको उद्योगले विद्यालयकै जग्गामा रहेको सडक प्रयोग गर्दै आएको छ ।
मर्जेतपुर स्थित विद्यालयको समस्या बारे जानकारी गराउँदै स्थानीय ।
सडकसँगै रहेको विद्यालयको भवनको छानोमा ट्रिपरले ठक्कर दिएपछी विद्यार्थीहरु विद्यालय आउन समेत जोखिम मोल्नुपर्ने अवस्था छ । “वालवच्चा पठन पाठनमा समस्या छ , सिक्ने अवस्था छैन् ।”स्थानीय डाकबहादुर मगरले भने “ट्रिपरले स्कूल नै भत्काएर जाने गरेको छ वास्तै छैन् , भवन बनाईदिने सहमति पुरा गर भनेर दबाव दिंदा सुन्दै सुन्दैन ।”
बजारवासी दुषित पानी पिउन वाध्य
कटारी नगरपालिकाको ठूलो बजार क्षेत्र रहेको वडा नम्बर ३ , ४ र ५ मा संञ्चालित नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानीको ट्याँकीसँगै उद्योगले ढुवानी गर्ने सडक छ । २ हजार बढी उपभोक्ताको धारामा आउने पानीको ट्याँकीमा ट्रिपरको धुलो सिधै जाने गरेको छ । धुलोका कारण दुषित पानी पिउनु पर्ने वाध्यता अन्त्यका लागि उद्योगले यस अघि नै ट्याँकीसँगै २५ मिटर अग्लो बेरा लगाईदिने गरेको सहमति पनि पुरा भएको छैन् ।
पानी , सडक , वन विनास लगायतका विषयमा ३ वर्ष अघि पनि विभिन्न माग राखेको भूमि अधिकार मञ्च नगर कमिटी कटारीका अध्यक्ष वालकृष्ण थापा बताउँछन् । “हामीले संस्थागत रुपमा मागहरु राखेका थियौं तर कार्यन्वयन भएन् ।”थापाले भने “त्यसपछी केहि व्यक्तिहरु मिलेर अदालतमा पनि मुद्दा हाल्यौं तर सुनुवाई भएन् ।”
सहमति कार्यान्वयन गछौं – उद्योग
उद्योगका लागि यस खानी क्षेत्र हेर्दै आएका प्रतिनिधि राजन झाले उद्योगले स्थानीयसँग गरेको सहमति क्रमश कार्यान्वयन गर्दै गईरहेको बताए । “जति पनि सहमतिहरु भएका छन् कार्यान्वयन गर्दै गईरहेका छौं ।”झाले भने “कार्यन्वयन हुन बाँकी सडक , खानेपानी लगायतका कामहरुका लागि पनि हामीले स्थानीय सरकारसँग समन्वय गरिरहेका छौं ।”
जनताको समस्याहरु जनप्रतिनिधिहरु मार्पmत नै समाधान गर्दा सहज हुने भएकाले निर्वाचित संस्था नगरपालिकासँग समन्वय गरेर काम अघि बढाउने झाको भनाई छ । उद्योगले वडामा विभिन्न सडकको ट्रयाकहरु खोलेको , विद्यालयहरुमा शिक्षक व्यवस्थापन गरेको , स्थानीयलाई रोजगारी दिएको कार्यहरु पनि सहमति बमोजिम भएको बताउँदै झाले केही निश्चित व्यक्तिको माध्यमबाट नभई जनप्रतिनिधिहरु मार्पmत जनताको समस्या समाधानका लागि उद्योग तयार रहेको बताए ।
कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले यस अघि प्रभावित क्षेत्रका वडा नम्बर ७ र ८ मा उद्योग प्रतिनिधिसँग भएको सहमति कार्यान्वयन गराउन उद्योगसँग कुरा गरिरहेको बताए । “पब्लिकका माग पुरा गर्नुपर्छ पुराना सहमति कार्यन्वयन गराउने नै हो ।”मेयर श्रेष्ठले भने “नयाँ सहमतिहरुका लागि मापदण्ड , कार्यविधि , नियम बनाएर अघि बढ्नुपर्छ ।”प्रभावित क्षेत्रमा अधिकांश मगर र तामाङ्ग समुदायको वसोवास रहेको छ ।


जनता भ्वाइस 








