images
images

उदयपुरका सामुदायिक वन समूहहरुको आशिंक रुपमा वन्द खाता खुल्ला गरिने

जन्ताभ्वाईस सम्वाददाता
१५ साउन , सोमबार , २०८०
कटारी /उदयपुरमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुको आंशिक रुपमा बन्द रहेको खाताहरु खुल्ला गरिने भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ उदयपुर र जिल्लाका दुईवटा डिभिजन बन कार्यालयका प्रमुख समेतको साउन ९ गतेको संयुक्त बैठक पश्चात खाता खुल्ला गरिने भएको हो ।
छलफल पश्चात धरौटी र सकल वापतको रकम बाहेक ७ लाख ७५ हजार सम्म आम्दानी भएका सम्पूर्ण सामुदायिक बन समूहहरुको खाता खुल्ला भएको सामुदायिक उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु वस्नेतले जानकारी दिनुभयो । यसभन्दा बढी आय भएका समूहहरूको कार्यक्रमको अनुगमन गरि सब डिभिजन बन कार्यालय र स्थानीय वा जिल्ला महासंघले सिफारिस गरेपछि डिभिजन बन कार्यालयको सिफारिसमा चेकका रकम भुक्तानी हुने पनि अध्यक्ष वस्नेतले जानकारी दिनुभयो ।
क्रमिक रुपमा सम्पूर्ण खाता परिस्थिति हेरि खाता खुल्ला गर्दै जाने पनि अध्यक्ष वस्नेतले बताउनुभयो । साथै सबै सामुदायिक वनहरूमा संयुक्त रूपमा सचेतना कार्यक्रम गर्ने , सामुदायिक वनलाई सुशासन कायम गर्न कार्यहरू गर्ने , उत्पादनको क्षेत्रमा जोड दिने , उपभोक्ता मुखी कार्यक्रम अघि बढाउने , तत्काल लेखापरिक्षण गराई आम भेला बैठक बसी बार्षिक कार्यक्रम पेश गर्न लगाउने लगायतका निर्णयहरू भएका छन् ।
सेवा प्रबाहलाई छिटो छरितो बनाउदै डिभिजन बन कार्यलय र जिल्ला महासंघले मतहतलाई निर्देशन र उत्प्रेरणा दिने र बर्तमान अवस्थामा देखिएका समस्या सवाल र निराकरणको बारेमा समेत छलफल भएको छ ।यस अघि गएको जेठ २ गते महासंघले जिल्लाको दुवै डिभिजन बन कार्यालय गाईघाट र डिभिजन वन कार्यालय त्रिवेणी कटारीलाई पत्र लेख्दै वन समूहहरुलाई विभिन्न वहानामा लगाईएको वाधा अड्चन हटाउन माग गरेको थियो ।