
जन्ताभ्वाईस सम्वाददाता
७ साउन , आईतबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ५ मा रहेको सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वर्षेनी पर्यटकलाई आकर्षित गर्न नयाँ संरचनाहरु निर्माण भईरहेका छन् । यहि क्रममा यस वर्ष भने कटारी नगरपालिकाको १० लाख आर्थिक सहयोगमा सिमसार आसपास फलामको बेराघेरासँगै टिकटक झुला निर्माण गरिएको छ ।
टिकटक झुला निर्माण गरिएसँगै कटारी नगरपालिकाका अलावा आसपासका स्थानीयतहहरुबाट समेत धमाधम आन्तरिक पर्यटकहरु आउन थालेको सिसाघारी सिमसार पर्यापर्यटन समितिका संयोजक दिलबहादुर अधिकारीले बताउनुभयो । टिकटकमा युवा पुस्ताहरु रमाउने भएकाले यसले विशेष आकर्षण दिएको अधिकारीको भनाई छ ।
सिमसारमा अहिले वाल उद्यान चिल्ड्रेन पार्क , सिमसार तालमा डुंगाहरु बोटिङ्ग गर्ने , रमणीय पार्क लगायतका संरचनाहरु बनेका छन् । सिमसार क्षेत्रमा हाल मृग , निलगाई लगायतका वन्यजन्तुहरुको पनि संरक्षण गरेर राखिएको छ । अहिले सिमसार घुम्न दैनिक ५ सय हाराहारी आन्तरिक पर्यटक आउने गरेका छन् ।
सिमसार घुम्न आउने, फोटो खिच्ने बोटिङ गर्नेको संख्या बढ्दै गएको छ । सिमसार कटारी नगरपालिकाकै गहनाको रुपमा पर्यटकीय क्षेत्र बन्दै गरेको स्थानीय युवा राजकुमार थापा बताउँछन् ।सिमसारमा अहिले उदयपुर, ओखलढुंगालगायत मधेस प्रदेश बाटसमेत नियमित पर्यटक आउने गरेका छन् । आफनै पहलमा अतिक्रमणमा पर्दै गएको क्षेत्रमा छोटो समयमै पर्यटकीय गन्तव्य बनाउन सफल भएपछि उपभोक्ता खुसी छन् ।
सिसाघारी सामुदायिक बनको पहलमा सुरु भएको सिमसारमा अहिले डिभिजन वन कार्यालय , कटारी नगरपालिका लगायतले विभिन्न संरचनाका लागि सहयोग गरेका छन् । कटारी बजारबाट तीन किलोमिटर मात्र पूर्वमा रहेको सिमसारमा रमाउन यो गर्मी मौसममा पनि वालवालिकाहरु , युवा तथा प्रौढहरुको घुईचो लाग्ने गरेको छ ।