images
images

उदयपुरमा असार सकिनै लाग्दा पच्चीस प्रतिशत मात्रै रोपाई

जन्ताभ्वाईस सम्वाददाता
३० असार ,शनिबार , २०८०
कटारी /असार सकिनै लाग्दा पनि भनेजस्तो वर्षा नभएपछी उदयपुरमा धान रोपाई प्रभावित भएको छ । वर्षा नभएका कारण हालसम्म जिल्लामा २५ प्रतिशत मात्रै रोपाई भएको कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्रसार अधिकृत महेश कुमार चौधरीले बताउनुभयो ।
उदयपुरमा १४ हजार ९ सय ३४ हेक्टर क्षेत्रफलमा वर्षे धान खेति हुँदै आएको छ । जसमा हालसम्म ३ हजार ७ सय ३३ हेक्टरमा मात्र धान रोपाई भएको छ । जिल्लाको कटारी , त्रियुगा , वेलका , चौदण्डीगढी नगरपालिकामा धेरै धानखेति हुने गरेको छ ।
समयमा वर्षा नभएपछी धान रोपाई प्रभावित भएको भन्दै अधिकृत चौधरीले वर्षा सुरुभएपछी रोपाई बढ्ने बताउनुभयो । जिल्लाको उदयपुरगढी गाउँपालिकाको नेपालटार र कटारी नगरपालिकाको देउलीकुना क्षेत्रमा लगाईएको चैत्रे धान उठाउने क्रम सकिन लागेको पनि अधिकृत चौधरीले बताउनुभयो ।“चैत्रे धान उठाएर सकिन लाग्यो , वर्षा नभएपछी चैत्रे धानलाई चाहि सजिलो भयो उठाउन ।”उहाँले भन्नुभयो “ पन्ध्रसय चौवन्न हेक्टरमा चैत्रे धान कृषकले लगाएका थिए ।”
गतवर्ष जिल्लामा १३ हजार ३ सय ८० हेक्टर क्षेत्रफलमा धान खेति गरिएको थियो । गतवर्षको तुलनामा यस वर्ष धानखेति हुन नसकेको पनि अधिकृत चौधरीले बताउनुभयो । उदयपुरमा ७ हजार ३ सय ३ हेक्टर क्षेत्रफलमा मात्र सिंचाई सुविधा पुगेको छ भने बाँकी क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिन्छ । सिंचाई सुविधा पुगेको क्षेत्रमा पनि पानीको मुल नफुट्दा खेतहरु बाँझै रहेको छ । जिल्लाको पहाडी भेगमा पर्ने उदयपुरगढी , रौतामाई , लिम्चुङ्गवुङ् , ताप्ली गाउँपालिकाका खेतहरुमा पनि पर्याप्त वर्षा नहुँदा रोपाई हुन नसकेको कृषकहरु बताउँछन् ।