images
images

एसईईमा उत्कृष्ट अंक ल्याउने छात्रा तीस हजार सहित सम्मानित

जन्ताभ्वाईस सम्वाददाता
२६ असार , मंगलबार , २०८०
रुपाटार / उदयपुरको ताप्ली गाउँपालिकाले २०७९ को एसईई परीक्षामा गाउँपालिकाबाट उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाको सर्वोत्कृष्ट अंक ३ दशमलव ५५ जिपिए , ए ग्रेड ल्याएकी छात्रा समीक्षा थापालाई नगद तीस हजार सहित सम्मान गरेको हो ।
महेन्द्ररत्न मावि रुपाटारकी छात्रालाई समीक्षाले गाउँपालिकाकै सवैभन्दा बढी जिपिए ल्याएकी हुन् । गाउँपालिकाबाट एकजना थापाले मात्रै ए ग्रेड ल्याएकी हुन् । समीक्षालाई गाउँपालिकाले सम्मान पत्र , नगद सहित सम्मान गरेको गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले बताउनुभयो ।
आगामी दिनमा एसईई दिनेहरुका लागि प्रेरणा र शिक्षामा अभिरुचि बढाउन नगदले सम्मान गरिएको अध्यक्ष विश्वकर्माको भनाई थियो ।“पहिलो पटक एसईईमा उत्कृष्ट ल्याउनेलाई नगद सहित सम्मान गरेका हौं ।”सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विश्वकर्मा उपाध्यक्ष धनम् मगर लगायतकको उपस्थिति रहेको थियो ।
विद्यार्थी थापासँगै गाउँपालिकाले विद्यार्थी अध्ययनरत विद्यालय महेन्द्ररत्न मावि रुपाटारलाई पनि सम्मान गरेको थियो । गाउँपालिकाको शिक्षा , युवा तथा खेलकुद विकास शाखाले आयोजना गरेको सम्मान कार्यक्रमका अवसरमा विद्यालयलाई पनि सम्मान गरिएको हो ।