ऋषि राई
२४ असार , आईतबार , २०८०
कटारी /कोशी प्रदेशमा मूख्यमन्त्री उद्धव थापाले आईतबार तीनजना मन्त्री थपेसँगै उदयपुरको प्रदेश सभा २ को “ख”बाट निर्वाचित नेपाली काँग्रेसका प्रदेश सभा सदस्य रामकुमार खत्री मन्त्री बन्नुभएको छ । मूख्यमन्त्री थापाले आईतबार दोस्रो पटक मन्त्री परिषद विस्तार गर्दा खत्री विना विभागीय मन्त्री बन्नुभएको हो ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री थप्नुभएको हो । माओवादीबाट दुई र कांग्रेसबाट एक जना गरी तीन जना मन्त्री थपिएका हुन् ।
माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा नेपाली कांग्रसबाट रामकुमार खत्री मन्त्री नियुक्त भएका छन् । मन्त्री बनेका खत्री उदयपुरको कटारी नगरपालिका वडा नम्बर ८ का स्थानीय हुनुहुन्छ ।
४३ वर्षको युवा उमेरमै प्रदेश सभा सदस्य बनेपछी मन्त्री बन्नुभएका खत्री बाबु कर्णबहादुर खत्री र आमा मनमाया खत्रीको कोखबाट २०३७ साल मंसिर ८ गते जन्मिनुभएको हो । स्नातकोत्तारसम्मको शैक्षिक योग्यता रहेका मन्त्री खत्री नेपाली काँग्रेसका उदयपुर क्षेत्र नम्बर २ का निवर्तमान क्षेत्रीय सभापति समेत हुनुहुन्थ्यो ।
२०५१ सालमा नेपाल विद्यार्थी संघमा आवद्ध भई राजनीति सुरु गरेका खत्री २०५५ सालमा विराटनगर स्थित महेन्द्र मोरङ्ग क्याम्पस विराटनगरकाका स्वतन्त्र विद्यार्थी युनियनका सदस्य समेत हुनुभएको थियो । विराटनगरबाट राजनीति सुरु गरेका खत्री विराटनगर नै केन्द्र भएको प्रदेश सभामा मन्त्री समेत बन्नुभएको हो ।
२०७४ को निर्वाचनमा एमालेका कला घलेसँग पराजित भएका खत्रीले २०७९ को निर्वाचनमा गठबन्धनबाट एमालेका जिवनाथ दाहाललाई पराजित गर्नुभएको थियो । पहिलो पटक निर्वाचित भएसँगै मन्त्री बन्ने अवसर पाएका खत्री उदयपुरका काँग्रेसका युवा नेता हुनुहुन्छ । यस अघि यसै प्रदेश सभाबाट २०७४ मा निर्वाचित एमालेका कला घले पनि २०७७ मा तत्कालिन प्रदेश नम्बर १ को भूमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बन्नुभएको थियो ।


जनता भ्वाइस 







