images
images

ट्राफिक प्रहरी पोष्टद्वारा कटारीका सवारीचालकहरुको निशुल्क स्वास्थ्य परीक्षण

जन्ताभ्वाइस सम्वाददाता
२३ असार , शनिबार ,२०८०
कटारी / उदयपुर जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारी बजार भएर आउजाउ गर्ने सवारी साधनका चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । ट्राफिक सप्ताहा कार्यक्रम २०८० को छैटौं दिन शनिबार ट्राफिक प्रहरी पोष्ट कटारीको आयोजनामा ३२ जना सवारी चालक तथा सहचालकहरुको निशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाका अनुसार सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकराणका लागि जारी अभियान अन्र्तगत कटारीमा पनि कार्यक्रम गरिएको हो । कटारी स्थित कटारी मोडल हस्पिटलको सहयोगमा ट्राफिक प्रहरी पोष्ट कटारीले चालकहरुको निशुल्क स्वास्थ्य जाँचका साथै निशुल्क औषधिहरु वितरण तथा मास्क वितरण गरेको थियो ।
ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख सहायक प्रहरी निरिक्षक दिपक कोईरालाले सवारी दुर्घटना न्युनिकरण हुनका लागि सवैभन्दा चालकको स्वास्थ्य अवस्था ठिक हुनुपर्ने भएकाले परीक्षण गरिएको बताउनुभयो ।“दुर्घटना नहुनु भनेको मूख्य भूमिका चालकसँग रहन्छ त्यसैले उनीहरुलाई प्रेसर छ , ज्वरो आको छ कि छैन भनेर स्वास्थ्य परीक्षण गराएका हौं ।”कोईरालाले भन्नुभयो ।“त्यसैगरी सवारीहरुको अवस्थाको पनि चेकजाँच गराएका छौं ।”
यस अघि शुक्रबार ट्राफिक प्रहरी पोष्ट कटारीले कटारीका सितोरिया कराँते खेलाडीहरुलाई दुर्घटनाका कारण र यसवाट वच्ने उपाय साथै ट्राफिक नियमबारे सचेतना दिएको थियो । सप्ताहाका अवसरमा विभिन्न चेतनामुलक कार्यक्रम गरी दुर्घटना न्युनिकरणका लागि गतिविधिहरु जारी राखेको पनि ट्राफिक प्रहरी पोष्ट कटारीले जनाएको छ ।
मदनभण्डारी राजमार्ग तथा सिचिचरण राजमार्गको जोडिएको कटारी बजारमा पनि सवारीसाधनहरुको चाप बढ्दो छ । बढ्दो सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरी पोष्टले विभिन्न कार्यक्रमहरु निरन्तर गरिरहेको छ ।