जन्ताभ्वाईस सम्वाददाता
२१ असार , बिहिबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ११ का कृषकहरु अकबरे खुर्सानीको बजार खोज्दैछन् । गहुँबारी ताजा तरकारी संकलन केन्द्रमा कृषकहरुको अकबरे खुर्सानी संकलन सुरु भईसकेको छ । कृषकहरुले यस वर्षको उत्पादन बजार पठाउने बेला भएकाले प्रतिकिलो २ सय १५ का दरले संकलन केन्द्रमा ल्याउन थालेको केन्द्रका नुजराज कार्कीले बताउनुभयो ।“अब बजार खोजेर उत्पादन पठाउने तयारीमा छौं ।”कार्कीले भने ।
कार्कीका अनुसार गत वर्ष झापा , सोलुखुम्बु , काठमाडौं ,ओखलढुंगा , सिन्धुली लगायतका जिल्लामा यहाँको अकबरे खुर्सानी पठाईएको थियो । वडामा अकबरे खुर्सानी उत्पादन सुरु भएको यो चौथो वर्ष भएको वडाध्यक्ष अनन्त हायुले बताउनुभयो । हायुका अनुसार वडाका कृषकहरुमा थोरै खेति गर्नेले प्रतिवर्ष ३० हजार र धेरै खेति गर्नेले प्रतिवर्ष ६ लाख सम्म अकबरे खुर्सानीबाट आम्दानी लिएका छन् । वडाका १ सय ५० घरधुरी भन्दा बढीले क्विन्टलका क्विन्टल अकबरे खुर्सानी उत्पादन गरेका छन् ।
जिल्लाको पहाडी चिसो ठाउँमा आर्गनिक अकबरे खुर्सानी उत्पादन भएको छ । “गतवर्ष डढुवा रोग लागेकाले यस वर्ष केहि कम खेति भएको छ ।”वडाध्यक्ष हायुले भने “तर यस वर्ष पनि वडामा मनग्गे खुर्सानी उत्पादन भएको छ ।” वडाध्यक्ष हायुले वडाको गोठडाँडा , काफलडाँडा , खोल्मेचौर , लप्से , आम्बोटे लगायतका गाउँहरुमा खुर्सानी उत्पादन भएको बताउनुभयो ।
वडामा अकबरे खुर्सानी राम्रो उत्पादन भएपनि बजारको समस्या भएकाले बजारको खोजि गर्नुपर्ने पनि उहाँले बताउनुभयो । गाउँमा उत्पादन भएको खुर्सानी संकलन केन्द्रहुँदै बजारसम्म पुराउने गरिएको छ । भर्खर उत्पादन सुरु भएकाले यस वर्ष अहिलेसम्म खुर्सानीका उपभोक्ता गाउँसम्म आईनपुगेकाले कहाँ पठाउने बजारको खोजिमा रहेको कृषकहरु बताउँछन् ।


जनता भ्वाइस 







