जन्ताभ्वाईस सम्वाददाता
१९ असार , मंगलबार , २०८०
कटारी/ कटारी नगरपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिको पुनः एकीकरण परियोजना (रेमी)ले सरोकारवालाहरुसँग परियोजनाको सुरुवाती कार्यशाला मंगलबार सम्पन्न गरेको छ । हेल्भेटास नेपालको सहयोगमा संञ्चालन हुने परियोजना उदयपुर जिल्लाको ८ पालिकामध्ये कटारी नगरपालिकामा पहिलो पटक संञ्चालनमा आउन लागेको हो ।
कटारी नगरपालिकामा पहिलो चरणमा सुरुवात भएको परियोजनाको कार्यशाला मेयर राजेशचन्द्र श्रेष्ठले उदघाटन गर्नुभएको थियो । कार्यशालामा स्थानीय निकायमा परियोजना संञ्चालनको कानुनी ऐन र कार्यविधिबारे जानकारी दिंदै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले मौलिक हकमा रहेको रोजगारीको हक नगरपालिकामा परियोजना सुरु भएको बताउनुभयो ।
अधिकृत किरातीका अनुसार आगामी साउन १ गतेदेखि आगामी २०८३ साउनसम्म पहिलो चरणमा परियोजनाले काम गर्नेछ । परियोजनाको कार्यक्रम अधिकृत रिताकुमारी विश्वासले परियोजनाबारे प्रष्ट पार्नुभएको थियो ।
वैदेशिक रोजगारीबाट फर्किएकालाई गाउँमै स्थापित गरी , व्यक्तिगत र पारिवारिक अवस्था स्थापित गर्न परियोजना संञ्चालन गरिने कार्यक्रम अधिकृत विश्वासले बताउनुभयो । पालिकामा वैदेशिक रोजगारीबाट फर्किएकाहरुको अवस्थाका विषयमा परियोजना केन्द्रित रहनेछ ।
कार्यशालाको समापन गर्दै उपमेयर गीता खड्काले वैदेशिक रोजगारीबाट आएकाहरुलाई सीप , ज्ञान र अवस्थाको अध्ययन गरी समाजमा स्थापित गर्नुपर्ने बताउनुभयो । कामको पहिलो चरणपछी यसको नतिजा देखिने पनि उपमेयर खड्काले बताउनुभयो ।
यो परियोजना कोशी प्रदेशको १० पालिकामा संञ्चालनमा ल्याईदैंछ । यस परियोजनामा नगरपालिकाले २० प्रतिशत सहभागिता जनाउनेछ । आगामी आर्थिक वर्षका लागि कटारी नगरपालिकामा परियोजना अन्र्तगत ५० लाख बजेट रहेको छ ।
कार्यक्रममा सहभागीहरुले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई सामान्य रोजगारमूलक तालिम दिएर प्रमाण पत्र दिने र तालि बजाउनुले मात्रै परिवर्तन नआउने प्रतिकृया दिएका थिए । विदेशमा नयाँ प्रविधिमा काम गरेर आएकालाई नेपालमा उक्त प्रविधि अनुसार काम लाउन नै नसकिने पनि सहभागीहरुले बताएका थिए ।
कार्यक्रममा जनप्रतिनिधि , कर्मचारीहरुको उपस्थिति रहेको थियो । परियोजना रोजगार सेवा केन्द्र अन्र्तगत संञ्चालनमा आउनेछ । परियोजना अन्र्तगत अहिले कर्मचारी छनौट प्रकृया जारी रहेको छ ।


जनता भ्वाइस 








