तस्बिर सौजन्य कर्ण राई
जन्ताभ्वाईस सम्वाददाता
९ असार , शनिबार , २०८०
कटारी / कटारी नगरपालिका वडा नम्बर ४ का विपन्न मुसहर र डोम समुदायको घरपरिवारको घरमै पुगेर निशुल्क स्वास्थ्य बीमा गरिएको छ । शनिबार सम्ममा वडाका १९ मुसहर र ११ डोम समुदायको गरी ३० विपन्न परिवारको निशुल्क स्वास्थ्य बीमा गरिएको कटारी अस्पत्तालका स्वास्थ्य बीमाको सहजिकरण गर्दै आएका कर्ण राईले बताउनुभयो ।
नेपाल सरकारको स्वास्थ्य बीमा वोर्ड अन्र्तगत विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बीमा गरिदिएर सहज र सहुलियत रुपमा उपचारका पहुँच पुराउने उद्येश्य भएपनि मुसहर र डोम समुदायले यसको बारेमा जानकारी नपाउँदा सेवा लिन नसकेकाले घरमै गएर जानकारी सहित बीमा गरिदिएको पनि सहजकर्ता राईले बताउनुभयो । “केहि पर्दा उपचार गर्ने पैसा मुसहर र डोमसँग हुँदैन यो सरकारी सेवाको पहुँचमा पुराए कम्तीमा वर्षमा १ लाख सम्मको उपचार सरकाले गरिदिन्छ ।”राईले भन्नुभयो “उपचारका लागि गुहार मागिहिंड्छन यति गरेपछी सरकारले उपचार सेवा दिन्छ ।”
बीमाका बारेमा कुनै पनि जानकारी नभएकाले विरामीहुँदा घरमै वस्ने गरेको बताउँदै कटारी ४ मुसहर टोलका भरत मुसहरले अब भने विरामी परे अस्पत्ताल जाने बताउनुभयो । “हामीलाई केहि थाहा नै थिएन् , अस्पत्ताल जान पैसा हुँदैन थियो , निशुल्क उपचार पनि पाईने बल्ल थाहा भयो ।”भरत मुसहरले शनिबार ६ परिवारका सदस्य सहितको स्वास्थ्य बीमा गराउनुभयो ।
७ परिवारका सदस्य वुद्धि मुसहरले पनि बल्ल सेवा बारे थाहा पाएको बताउँदै आगामी दिनमा उपचारका लागि अस्पत्ताल जाने बताउनुभयो । ६ परिवारका स्वास्थ्य बीमा गरिदिएपछी भलवा मुसहरले अस्पत्ताल जाने बाटो खुलेको बताउनुभयो । “पैसा विना पनि उपचार हुने रहेछ बल्ल थाहा भयो ।”उहाँले भन्नुभयो ।
वडाध्यक्ष तथा कटारी अस्पत्ताल विकास समितिका अध्यक्ष समेत रहेका भूपेश तामाङ्गले वडामा रहेका लगभग चालिस पचास घर विपन्न परिवारका मुसहर , डोम समुदायको स्वास्थ्य बीमा गराईरहेको बताउँदै आगामी वर्ष बजेट नै छुट्टाएर सवैलाई बीमाको पहुँचमा पुराउने बताउनुभयो । वडाका बीमा दर्ता सहयोगी सानुमाया तामाङ्गले स्वास्थ्य बीमा वोर्डका मापदण्ड अनुसार उनीहरुको बीमा गरिदिनुभयो ।
नेपाल सरकार स्वास्थ्य बीमा बोर्डका अनुसार विपन्न , जेष्ठ नागरिक , क वर्गको अपाङ्गता भएका , कुष्ठरोग , एजआईभी पोजिटिभ , टिवी लगायतका विरामीलाई निशुल्क एकपटक बीमा गरेपछी सँधैका लागि वर्षेनी १ लाख बराबरको उपचार सेवा निशुल्क गर्ने गरेको छ । त्यसैगरी अन्यको हकमा भने प्रतिपरिवार ५ सदस्यकाका लागि वर्षको ३ हजार ५ सय र थप परिवार सदस्य ७ सयले वीमा गरिदिए थप एकलाखमा वीस हजार बराबरको उपचार सेवा निशुल्क पाईने छ ।
सरकारले तोकेका सरकारी अस्पत्तालहरुले स्वास्थ्य बीमा कार्ड देखाएपछी निशुल्क उपचार गर्ने गरेको छ ।बीमा बारे जानकारी नभएकाहरुलाई घरमै पुगेर बीमा गरिदिए अप्ठ्यारोमा परेकावेला स्थानीय निकायसम्म सहयोग माग्न आउनेहरुलाई उपचारमा सहज होस भन्ने उद्येश्यले बीमा गरिदिएको वडाध्यक्ष तामाङ्गले बताए । कटारीमा बीमा गराएकाले कटारी अस्पत्ताल र यहाँबाट रेफर गरेका अस्पत्ताहरुमा निशुल्क एकलाखसम्मको उपचार सेवा पाउनेछन् ।


जनता भ्वाइस 







