images
images

कटारी नगरपालिकाको ढुवानीमा बजार पुग्दै कृषकका गोलभेडा

जन्ताभ्वाईस सम्वाददाता
४ असार , सोमबार , २०८०
कटारी/ कटारी नगरपालिकाले नगरका कृषकहरुले उत्पादन गरेको गोलभेडा बजारमा पुराईदिने गरेको छ । नगरको वडा नम्बर ११ मा उत्पादित गोलभेडाले बजार नपाएपछी नगरपालिकाको सवारी साधन मिनिट्रकले कृषकहरुको गोलभेडा बजारसम्म पुराईदिने गरेको हो ।
नगरपालिकाको मिनिट्रकले कोशी प्रदेशको अलावा वागमती प्रदेशको सिन्धुली , मधेस प्रदेशको सिरहासम्म लगेर कृषकहरुको गोलभेडा विक्री गरिदिने गरेको छ । “नगरपालिकाले ढुवानी गरिदिएर बजार सम्म पुराईदिन थालेका छौं ।”नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो “कृषकहरुको उत्पादनलाई बजार नपाएपछी नगरपालिकाले नै बजारसम्म पुराउन थालेका हौं ।”
कटारी नगरपालिका वडा नम्बर ११ मा वडाका १५० परिवारले गोलभेँडाको खेति गरेका छन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा ४०० रोपनीभन्दा बढी जग्गामा खुलारूपमा र ४०० टनेलमा गोलभेडा उत्पादन गरिएको छ। उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेडा उत्पादन भएको गोलभेडा संकलन केन्द्रका नुजराज कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा गोलभेडा संकलन गर्ने गरेको छ। संकलन केन्द्रमा राखिएको गोलभेडा नगरपालिकाले कटारी बजार , सिन्धुलीको दुधौली , सिरहाको गोलबजार सम्म लगेर विक्री गर्ने गरेको छ ।
नगरपालिकाले गोलभेडा बजारसम्म पुराईदिएपछी कृषकहरुलाई ठूलो राहत मिलेको वडाध्यक्ष हायु बताउँछन् । “बारीमै सडेर जाने अवस्थामा पुगेको थियो नगरको पहलमा बजारसम्म पुराउँदा पनि ठूलो राहत भयो ।” वडाको गोलभेडा ओखलढुङ्गा, सोलुखुम्बु, जिल्लाकै कटारी बजार, गाईघाट, सिन्धुलीको दुधौली र सिरहाको गोलबजार , धनकुटासम्म लगेर बिक्री गर्ने गरिएको छ।
वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा, काफलडाँडा, खोल्मेचौर, लप्से, आम्बोटेलगायत गाउँमा गोलभेँडा पर्याप्त मात्रामा उत्पादन भएको छ। यसअघि अदुवा, काउली र डल्ले खुर्सानी उत्पादन गरेका कृषकले दुई वर्षयता गोलभेडा खेतीलाई प्राथमिकता दिँदै आएका छन्।