images
images

ताप्लीमा सम्पन्न भलिवलको उपाधि दमकलाई

जन्ताभ्वाईस सम्वाददाता
३१ जेठ , बुधबार , २०८०
रुपाटार / उदयपुरको ताप्ली गाउँपालिकामा सम्पन्न अन्तरपालिका स्तरीय अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिताको उपाधि झापाको दमक नगरपालिकाले हासिल गरेको छ । ताप्ली गाउँपालिकाको सहयोग र ताप्ली युवा तथा खेलकुद विकास समितिको आयोजनामा बुधबार सम्पन्न प्रतियोगिताको फाईनलमा आयोजक ताप्ली गाउँपालिकालाई पराजित गर्दै दमकले उपाधि हात पारेको हो ।
उपाधिसँगै दमक नगरपालिकाले नगद १ लाख ५१ हजार १ सय ११ सहित शिल्ड , मेडल र प्रमाण पत्र हात पार्दा उपविजेता ताप्ली गाउँपालिकाले नगद १ लाख १० हजार ,शिल्ड मेडल र प्रमाण पत्र हात पारेको थियो । प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको खोटाङ्को हलेशी तुवाचुङ् नगरपालिकाले नगद ५० हजारका साथमा ,शिल्ड मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगितामा दमक , हलेशी तुवाचुङ् , ताप्ली गाउँपालिकाकै ३ समूह र उदयपुरकै त्रियुगा नगरपालिका गरी ६ टिमले प्रतिष्पर्धा गरेका थिए । सुनकोशी युवा क्लव रुपाटारको खेल मैदानमा सम्पन्न प्रतियोगिताको विजेता टिमहरुलाई गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्मा , उपाध्यक्ष धना मगरले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको समापन गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले समग्र खेलकुद विकासको लागि आफ्नो तर्फबाट जुनसुकै परिस्थितिमा पनि योजना निर्माण र बजेट व्यवस्थापन गर्न कुनैपनी कन्जुस्याइँ नगर्ने बताउनुभयो । खेलप्रती चासो लिएर अगाडी बढ्न चाहने युवाहरुलाई निर्धक्क भएर खेलप्रतिनै लाग्न समेत अध्यक्ष विश्वकर्माले आग्रह गर्नुभयो ।
त्यसैगरी उपाध्यक्ष धना मगरले आगामी दिनमा ताप्ली गाउँपालिकाको युवा महिला खेलाडी उत्पादन गर्न पालिकाको तर्फबाट खेल्नुपर्ने भूमिकाको बारेमा पालिका सधैं सकारत्मक रहने बताउनुभयो । ताप्ली उदयपुर जिल्लाकै उत्तरपश्चिमी भेगमा पर्ने पहाडी गाउँपालिका हो ।