जन्ताभ्वाईस सम्वाददाता
२६ जेठ , शुक्रबार
कटारी / कटारी नगरपालिकाका नगर प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले उच्च अदालतले तदर्थ समितिलाई काम नगर भन्ने आदेश सहितको आधिकारिक पत्र नआएको बताउँदै तदर्थ समितिलाई नै काम गर्न निर्देशन दिनुभएको छ । आज तदर्थ समितिका पदाधिकारीहरु सहित खानेपानीको अवस्थाका विषयमा अनुगमन अवलोकन गर्दै मेयर श्रेष्ठले सामाजिक संञ्जालमा आदेशहरु आएको सुनेको भएपनि अहिलेसम्म आधिकारिक पत्र नआएको बताउनुभयो ।
नगरपालिकाले स्थानीय सरकार संञ्चालन ऐनलाई टेकेर बनाईएको कार्यविधिको आधारमा समिति गठन गरेको बताउँदै मेयर श्रेष्ठले कार्यपालिकाले पारित गरेकोमा कसरी निवेदन दिएको हो भन्ने कुरा आधिकारिक आएपछी मात्र थाहा हुने र जवाफ दिने बताउनुभयो । लामो समय अधिवेसन नभएको , आर्थिक पारदर्शी नभएको र लामो समस्या आएकाले ६ महिना भित्र समस्या समाधान गर्ने कुराहरुका लागि तदर्थ समिति बनेको मेयर श्रेष्ठले बताउनुभयो ।
पत्र आएपछी उचित जवाफ दिने बताउँदै मेयर श्रेष्ठले जवाफ दिन तयार रहेको बताउनुभयो । अनुगमन पश्चात मेयर श्रेष्ठले कटारी खानेपानीको लामो समय अधिवेसन नभएको , विभिन्न विवाद लगायतको अवस्थामा आज गरिएको अनुगमनमा सानो सानो कुराहरु पनि विग्रेको , लथालिंग रहेको देखिएको बताउँदै , शुद्ध पानी पिउन अनुगमन गरिएको बताउनुभयो ।
तारहरु वेवारिसे र जोखिमपूर्ण रुपमा छोडिएको , ट्याङ्कीको पानी सफा नगरेको , भवनहरु जीर्ण बन्दै गएको अनुगमनमा पाईएको थियो । खानेपानीको स्वच्छताका लागि गुणस्तर विभागमा परिक्षण गराउने र दररेट अवैज्ञानिक भएको अवस्थामा यसलाई वैज्ञानिक ढंगले शुल्क निर्धारण गरेर खानेपानी सवैलाई व्यवस्था गर्न नगरपालिका लागि परेको पनि मेयर श्रेष्ठले बताउनुभयो ।
अनुगमनमा मेयर श्रेष्ठ कटारी ३ का वडाध्यक्ष पुष्कर खड्का , ४ का वडाध्यक्ष भूपेश योञ्जन , तदर्थ समितिका पदाधिकारीहरु रहेका थिए । कटारी नगरपालिकाले कटारीको खानेपानी विवाद समाधानका लागि यस अघि कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा तदर्थ समिति गठन गरेको थियो ।
समितिको अध्यक्षमा विष्णु पौडेल , उपाध्यक्षमा रोहित लामा र विमला खत्री,सचिवमा उमापति वास्तोला र कोषाध्यक्षमा सुरेन्द्र प्रसाद जयसवाल चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा शत्रुधन कार्की , पुष्पसुन्दर टक्सारी , ईन्दिरा पोखरेल , अम्बरबहादुर श्रेष्ठ ,दिलबहादुर अधिकारी , संञ्जय थापा ,दिलबहादुर थापा ,सरिता श्रेष्ठ ,मिरा गुरुङ्ग र ईश्वर गिरी चयन भएका छन् ।
यस अघि विहिबार सामाजिक संञ्जाल फेसबुकमा उच्च अदालत विराटनगरले समितिका पूर्व अध्यक्ष दोजराज पौडेल सहितले निवेदन दिएको र यथास्थितिमा रहन दिनुका साथै तदर्थ समितिलाई काम नगर्न आदेश दिएको पत्र सार्वजनिक भएको थियो ।


जनता भ्वाइस 







