-रेनु पराजुली
२५ जेठ ,बिहिबार , २०८०
कटारी /नगरपालिका वडा नम्बर ११ का कृषकहरुले उत्पादन गरेको टमाटरले भाउ नपाएको गुनासो गरेका छन् । उक्त वडामा मात्र यस वर्ष कृषकहरुले ५० टनभन्दा बढी टमाटर उत्पादन गरेको संकलन केन्द्रका नुजराज कार्कीले बताउनुभयो । उत्पादन धेरै भएपनि कृषकहरुले भनेको जस्तो भाउ पाउन नसेको कार्कीको भनाई छ ।
वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा ४ सय रोपनी भन्दा बढी खुल्ला रुपमा र ४ सयको हाराहारीमा टनेलमा टमाटर उत्पादन गरिएको छ । संकलन केन्द्रका कार्कीका अनुसार केन्द्रले भाडामा जस्ताको छानो भएको घरमा टमाटर संकलन गर्ने गरेको छ । चिस्यान केन्द्र नहुँदा यसलाई भण्डारण गरेर राख्ने र भाउ पाएपपछी विक्री गर्ने अवस्था छैन् ।
केन्द्रका कार्कीका अनुसार उक्त वडाको टमाटर , ओखलढुंगा , सोलुखुम्बु , जिल्लाकै कटारी बजार , गाईघाट , सिन्धुलीको दुधौली , सिरहाको गोलबजार , धनकुटासम्म पठाउने गरिएको छ । उत्पादन धेरै भएपनि यहाँबाट लैजाने व्यापारीहरुले टमाटरको भाउ नदिने गर्दा कृषकहरु मारमा परेका हुन् । नगरपालिकाकै वडा नम्बर ३ र ४ मा रहेको कटारी बजारमा टमाटर किलोको ६० रुपैंया छ । व्यापारीले कृषकहरुलाई भने ३० रुपैंया भन्दा वढी दिंदैनन् ।
वडाध्यक्ष हायुका अनुसार वडाको गोठडाँडा , काफलडाँडा , खोल्मेचौर , लप्से , आम्बोटे लगायतका गाउँहरुमा टमाटर उत्पादन हुने गरेको छ । यस अघि अदुवा , काउली , डल्ले खुर्सानी उत्पादन गरेका कृषकहरुले दुई वर्ष अघिदेखि टमाटर खेतिलाई पहिलो खेति बनाएका थिए । दोस्रो वर्षमा वडामा ५० टनभन्दा बढी टमाटर उत्पादन भएको हो ।
उत्पादन बढेपनि कृषकहरुले उचित दाममा बजारसम्म टमाटर पुराउन सकेका छैनन् । यस वर्ष राम्रो टमाटर उत्पादन भएपनि भाउ नपाउँदा कृषकहरु समस्यामा परेको कृषक पुष्पराज खड्काले बताउनुभयो । बजारमा भने भारतबाट आयात भएको टमाटरले भाउ पाईरहेको छ । यहाँको टमाटरलाई बजारीकरण , भण्डारण गर्न नगरपालिकाले चासो दिनुपर्ने कृषकहरुले बताउँदै आएका छन् ।कटारीको वडा नम्बर ११ मा एकसय पचास वढी किसानहरुले टमाटर उत्पादन गरेको पनि वडाध्यक्ष हायुले बताउनुभयो ।


जनता भ्वाइस 







