images
images

उदयपुरमा कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै हुने वृहत साँस्कृतिक कार्यक्रमको तयारी पुरा

जन्ताभ्वाईस सम्वाददाता
८जेठ , सोमबार , २०८०
गाईघाट /कोशी प्रदेश नामाकरण खारेजीको माग सहित उदयपुरमा उभौली विशेष वृहत साँस्कृतिक कार्यक्रमकोे तयारी पुरा भएको छ । मंगलबार जिल्लाको गाईघाट स्थित त्रियुगा नगरपालिका , ११ स्थित पिपलचोकमा हुने कार्यक्रमको तयारी पुरा भएको हो । कोशी प्रदेश नामाकरण संयुक्त संघर्ष समिति उदयपुरको आयोजना र किरात राई यायोक्खा उदयपुरको समवन्वयमा कार्यक्रम गर्न लागिएको हो ।
कार्यक्रमको तयारी पुरा भएको बताउँदै किराया उदयपुर अध्यक्ष गंगा राईले कार्यक्रममा राई समुदायको साकेलाका अलावा विभिन्न जातजातिहरुको विशेष साँस्कृतिक प्रस्तुतीहरु समेत हुने बताउनुभयो । “विभिन्न आदिवासी जनजातिहरुको झाँकीहरु समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । ”अध्यक्ष राईले भन्नुभयो ।“साँस्कृतिक कार्यक्रमसँगै पहिचानको विषयमा विज्ञ वक्ताहरुको समेत उपस्थिति रहनेछ ।”
कार्यक्रमलाई सम्वोधन गर्न पूर्व मन्त्री गोपाल राई , किरात राई राष्ट्रिय समिति अध्यक्ष रमेश राई ,राजीतिक विश्लेषक तथा लेखक युग पाठक , आदिवासी जनजाति महासंघका पूर्व केन्द्रीय महासचिव आङकाजी शेर्पा ,किरात राई यायोक्खाका केन्द्रीय महासचिव भीम राई लगायतले सम्वोधन गर्नेछन् ।
कोशी प्रदेश नामाकरण गरिएसँगै उदयपुरमा पनि पहिचान पक्षधरहरुले निरन्तर विरोध गरिरहेका छन् । उभौलीको अवसरमा समेत राईहरुले नामाकरणको विरोध गर्दै साकेला मनाउँदै आएका छन् । यसै अवसरमा वृहत कार्यक्रमको तयारी गरिएको किराया उदयपुरका उपाध्यक्ष शुभराज राईले बताउनुभयाे ।
कार्यक्रममा उदयपुरको पूर्वी भेग वेलका नगरपालिकासँगै पश्चिमी भेग कटारी र सवै स्थानीयका आदिवासी जनजातिसँग सम्वन्धित संघसंस्थाहरुको नेतृत्वमा सहभागीता जनाउने कार्यक्रम रहेको छ । साँस्कृतिक कार्यक्रमसँगै पहिचानको सवालमा वक्ताहरुले प्रशिक्षणात्मक मन्तव्य राख्ने कार्यक्रम भएकाले यो कार्यक्रम महत्वपूर्ण रहेको पनि किराया उदयपुर अध्यक्ष राईले बताउनुभयो । कार्यक्रम मंगलबार विहान १० बजेदेखि सुरु हुने किराया उदयपुरले जनाएको छ ।