जन्ताभ्वाईस सम्वाददाता
६ जेठ , शनिबार , २०८०
कटारी /कटारी नगरपालिका वडा नम्बर ४ मा ३८ वर्षअघि कृषि बजारलाई व्यवस्थित गर्न निर्माण गरिएको कृषि उपज केन्द्र अहिले बल्ल प्रयोगमा ल्याउन लागिएको छ । २०४२ सालमा सगरमाथा ग्रामीण एकिकृत आयोजनाले कृषि बजारलाई व्यवस्थित गर्न लाखौँ रुपैँया खर्च गरेर १० वटा टहरा, ४ वटा गोदाम,१ सिटी हल निर्माण गरी दिएपनि सम्बन्धित निकायले ध्यान नदिंदा केन्द्र प्रयोग विहिन अवस्थामा पुगेको थियो ।
उक्त केन्द्रलाई पछिल्लो स्थानीय निर्वाचनपछी पुनः मर्मतगरी प्रयोगमा ल्याउने अवस्थामा पुराएको २ वर्षपछी प्रयोगमा ल्याउन सुरु गरिएको हो । “हाटबजारको प्रारम्भिक सुरुवात भएको छ । ”कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले भन्नुभयो “अव यसलाई थप व्यवस्थित गरेर प्रयोगमा ल्याउने हो ।”
केन्द्रमा हाटबजार लगाउन नगरपालिकाले मोहन कार्कीको अध्यक्षतामा कटारी हाटबजार समिति गठन गरेको छ । “अहिले पूर्ण रुपमा सरसफाई गरेर केन्द्र प्रयोगमा ल्याउन थालेका छौं ।”समितिका अध्यक्ष कार्कीले भन्नुभयो “कार्यालय व्यवस्थापन , प्रचार प्रसारका लागि अहिले नगरपालिकासँग समन्वय गरिरहेका छौं ।”
कार्कीका अनुसार कटारी बजारमा रहेका तरकारी , कृषिजन्य किनमेललाई केन्द्रबाट मात्रै गर्ने तयारी गरिएको छ । फुटपाथका पसललाई केन्द्रमा लगिने छ । त्यसैगरी केन्द्रमा निर्माण भएको स्टलबाट मात्रै मासु पसलहरु संञ्चालन गरिनेछ ।
कटारी , ४ का वडाध्यक्ष भुपेश तामाङ्गले सरसफाई र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको बताउनुभयो । नियमित रुपमा हाटबजार केन्द्रबाट संञ्चालन गर्ने पनि वडाध्यक्ष तामाङ्गले बताउनुभयो ।
कटारी बजारमा शुक्रबार हाट लाग्ने गर्दथ्यौ । झण्डै ४० वर्ष पहिले कटारीमा लाग्ने शुक्रबारे हाट चर्चित हाटबजार थियो । पहाडी जिल्ला ओखलढुंगा , सोलुखुम्बु , खोटाङ्ग लगायत सिन्धुली जिल्लाको पूर्वी भेगका स्थानीय यहि हाटबजारमा किनमेल गर्थे ।
अहिले शुक्रबार पशु हाट मात्रै लाग्ने गरेको छ । विशेष गरी खसी , बोका , बाख्राको किनमेल सडकबाटै हुने गरेको छ । उक्त हाटको किनमेल पनि केन्द्रबाटै गराउन सुरु गरिएको हाटबजार व्यवस्थापन समिति अध्यक्ष कार्कीले बताए । हाटबजार व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि समेत पारित गरिसकेको छ । यसअघि नगरपालिकाले २० लाख बढी खर्चेर केन्द्रको पुर्ननिर्माण गरेको थियो ।


जनता भ्वाइस 








