जन्ताभ्वाईस सम्वाददाता
३१ वैशाख , आईतबार , २०८०
कटारी / कटारी बजार नयाँ खानेपानी तथा सरसफाई उपभोक्ता समिति तेस्रो साना सहरी खानेपानी आयोजनाको नयाँ नेतृत्वका लागि आगामी जेठ ६ गते निर्वाचन हुने भएको छ । समितिको शनिबार सम्पन्न वन्द सत्रले तीन सदस्यीय निर्वाचन मण्डल गठन गर्दै निर्वाचनको मिति तय गरेको हो ।
निर्वाचन मण्डलमा मोहन बराल , नारायण अधिकारी र विष्णु प्रसाद पौडेल रहेका छन् । निर्वाचन मण्डलले समितिको साधारण सभाले पारित गरेको विधान बमोजिम नयाँ नेतृत्वका लागि निर्वाचन गर्नेछ । शनिबारको वन्द सत्रले पुरानो कार्य समितिको अनुमोदन नभएको आर्थिक प्रतिवेदन माथि छलफल गरेको थियो ।
समितिको आर्थिक प्रतिवेदन यस अघिको वन्द सत्रले पारित नगरेपछी सविन खानको नेतृत्वमा आन्तरिक लेखा परीक्षण समिति गठन गरिएको थियो । समितिको छानविनबाट आएको प्रतिवेदन र समितिको प्रतिवेदनमा पारित भएको आर्थिक प्रतिवेदनको वुँदाहरुलाई पारित गर्दै भेलाले पारित नगरेको बुँदाहरुलाई नयाँ नेतृत्वले पुन छानविन गर्नेगरी निर्वाचनको मिति तय गरिएको हो ।
निर्वाचनको मिति तय भएसँगै झण्डै ५ वर्षदेखिको समितिको विवाद समाधान गरी नयाँ नेतृत्व चयनको बाटो खुलेको छ । यस अघि आर्थिक पारदर्शिता नभएको , खानेपानीको महशुल अत्यधिक चर्को रहेको भन्दै उपभोक्ताहरुको असन्तुष्टिका कारण सभा विथोलिंदै आएको थियो । शनिबारको वन्द सत्रमा कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले प्रतिवेदनमाथि गम्भिर छलफल गर्न अनियमितता देखिए भर्न भराउन लगाउनु पर्ने बताउनुभएको थियो ।
छानविन समितिले छानविनमा समितिले साथ सहयोग नगरेपछी वडा नम्बर ४ को वडा कार्यालयको सहयोगमा प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदनमा तत्कालिन सिन्कौले खानेपानीमा ७ लाख बढी देखि हालसम्म थुप्रै वुँदाका लाखौ रकमको रुजु भएको छैन र पारित नभई आगामी कार्यसमितिले छानविन गर्नेगरी निर्णय गरिएको छ ।


जनता भ्वाइस 







