जन्ताभ्वाईस सम्वाददाता
२९ वैशाख , शुक्रबार , २०८०
कटारी / कटारी वडा नम्बर ३ मा रहेको सदावहार सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा अवैध रुपमा काठ कटान गरिएको पाईएको छ । समूहको कार्यायोजना नै नविकरण नभएको समूहका अध्यक्ष वद्री घिमिरेको एकल निर्देशनमा काठ कटान गरिएको पाईएको हो ।
समिति अध्यक्ष वद्री घिमिरेले सवै प्रकृया पुरा गरेको र बन कार्यालयबाट अनुमति समेत लिएको बताउँदै १५ दिनदेखि वन क्षेत्रमा काठ कटान गरी उपभोक्ताहरुको घर घरमा पुराईदिएका थिए । अध्यक्ष घिमिरेले सवै प्रकृया पुरा भएको बताउँदै काठ कटान गरेको भएपनि डिभिजन वन कार्यालय कटारीमा उक्त वनको कार्ययोजना नै नविकरण नगरेको पाईएको हो ।
कार्ययोजना नै नविकरण नभएको समूहको वन क्षेत्रमा आफुखुसी काठ काटेको पाईएपछी वन कार्यालयले आवश्यक अनुसन्धान सुरु गरेको छ । “सुरक्षाकर्मीहरु सहित अनुसन्धान अधिकृत खटाएर काठको मुचुल्का उठाउन लगाएको छु ।”डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)का प्रमुख डिभिजन वन अधिकृत अनिरुद्ध कुमार साहले भन्नुभयो । “कानुन अनुसार अघि बढ्छौं र कानुनमा जे छ त्यहि कार्वाही गछौं ।”
विना स्विकृति वन क्षेत्रमा ४७ वटा भन्दा बढी काठ काटेको पाईएको उपभोक्ता ओमराज राईले बताउनुभयो । डिभिजन वन कार्यालय कटारीका प्रमुख डिभिजन वन अधिकृत साहले आवश्यक मुचुल्का संकलन गरी कानुनी कार्वाहीका लागि अदालतमा पेश गर्ने बताउनुभयो ।
उपभोक्ताहरुले भने वन कार्यालयको मिलेमतोमा वन नष्ट हुनेगरी काठ काटिएको र वनले तत्काल कुनै कार्वाही नगरेको आरोप लगाएका छन् । काठ सहित रंगेहात पक्राउ गरेको ट्याक्टर छोड्ने , कार्वाहीका लागि प्रमाण नपुगेकाले प्रमाण जम्मा गरिरहेको जस्तो गैह्र जिम्मेवार जवाफ अधिकृत साहले दिएको समूहका निवर्तमान अध्यक्ष राजु मगरले बताउनुभयो ।
कार्यायोजना नविकरण नभएको , कटान आदेश नलिएको , छपान नगरेको , आमभेला समेत नबोलाएको समिति मार्पmत कुनै निर्णय पनि नभएको अवस्थामा समूहका अध्यक्ष घिमिरेले एकलौटी रुपमा कार्यसमितिका पदाधिकारीहरुलाई काठ खुलेको बताउँदै काठ काटेर उपभोक्ताहरुको घरमा पुराई दिएका थिए । काठको दरभाउ तथा उपभोक्ताहरुको काठको आवश्यकता लगायतका कुनै पनि प्रकृया नपुराई काठ काटिएको पाईएको उपभोक्ताहरु बताउँछन् ।


जनता भ्वाइस 







