जन्ताभ्वाईस सम्वाददाता
२७ वैशाख,वुधबार , २०८०
कटारी/ कटारी नगरपालिकाको आयोजनामा सम्पन्न वृहत निशुल्क स्वास्थ्य शिविरमा १ हजार ७ सय विरामीले उपचार सेवा लिएका छन् । बुधबार सम्पन्न दुई दिने निशुल्क स्वास्थ्य शिविरमा कटारी नगरपालिकासँगै आसपासका पालिकाका विरामीहरुले सेवा लिएका हुन् । काठमाडौं मेडिकल कलेज ,सिनामंगल काठमाडौं र नोबेल मेडिकल कलेज , विराटनगरको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा मुटु , नशा , जनरल , प्रसुती तथा स्त्री , हाडजोर्नी , नाक कान घाँटी , छाला तथा यौन रोगको विशेषज्ञ डाक्टरहरुबाट उपचार सेवा निशुल्क रहेको थियो । त्यसैगरी शल्यकृया , आँखा ,बालरोग , दन्तरोग , मुटु जाँच ईसिजी , ईको मुटुको विशेष जाँच समेत गरिएको थियो । कटारी अस्पत्ताल परिसरमा सम्पन्न शिविरको बुधबार समापन गर्दै कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले शिविर सम्पन्न गर्ने सवैलाई धन्यवाद दिनुभयो ।
यसले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा एउटा सकारात्मक पहल भएको मेयर श्रेष्ठले बताउनुभयो । शिविरबाट यहाँ उपचार सम्भव नभएका ४८ विरामीलाई काठमाडौं र विराटनगर रेफर गरिएको छ । काठमाडौं मेडिकल कलेजले पूर्ण र नोवेल मेडिकल कलेजले ५० प्रतिशत छुटमा उनीहरुको उपचार गरिदिने स्वास्थ्य कर्मी टोलीका मार्केटिङ्ग अफिसर नविन दाहालले बताउनुभयो । समापनमा वोल्दै नगरपालिकाकी उपमेयर गिता खड्काले आगामी वर्षहरुमा पनि यसलाई पहाडी भेगमा संञ्चालन गर्ने उद्येश्य राखिएको बताउनुभयो ।
वडा नम्बर ४ का वडाध्यक्ष तथा अस्पत्ताल विकास समितिका अध्यक्ष भुपेश तामाङ्गले शिविरको समापन गर्दै आगामी दिनमा थप कमजोरीहरुको अन्त्य गरी शिविर संञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा वोल्दै कटारी अस्पत्तालका प्रमुख मेडिकल सुपरिडेन्टेड डाक्टर गौरव साहले अस्पत्तालको व्यवस्थापनमा सफलतापूर्वक शिविर सम्पन्न भएको बताउनुभयो । वडा नम्बर ३ का वडाध्यक्ष पुष्कर खड्काले शिविरबाट धेरैले लाभ लिन सकेको बताउनुभयो ।


जनता भ्वाइस 







