जन्ताभ्वाईस सम्वाददाता
१९ वैशाख , मंगलबार , २०८०
दुधौली / सरकारले खर्च कटौती गर्न सभा ,सम्मेलन , तथा गोष्ठी कम गर्न भन्दै सरकारी कार्यालयलाई निर्देशन दिएको छ । तर सिन्धुलीको दुधौली नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुको टोली आधारशिला तालिम भन्दै ईलाममा कार्यक्रम सम्पन्न गरेर फर्किएका छन् ।
नगरपालिकाका मेयर दिनेश अधिकारी , उपमेयर चन्द्र किशोर थारु , प्रमुख प्रशासकीय अधिकृत दिपक ढकाल लगायत ११ जना वडाध्यक्ष र नगरपालिकाका शाखाका प्रमुख सहितका कर्मचारीहरुको टोली वैशाख १५ देखि १८ गतेसम्मको हेफर आधारशिला तालिमका लागि ईलाम पुगेर फर्किएका हुन् । आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम भोकालाई एकछाक भोजन होईन जिउने जुक्ती सिकाऔं भन्ने नारासहित परियोजना अनुगमन तथा समन्वय समितिलाई हेफर आधारशिला तालिम अन्र्तगत उनीहरु ईलाममा कार्यक्रम सकेर आएका हुन् ।
कोशी प्रदेशको ईलाममा नगरको प्रमुख सहितको टोलीलाई पुराउने साझेदारी संस्था मानव तथा राष्ट्रिय विकास समाज (हेण्डस) नेपाल सिन्धुली हो भने हेफर प्रोजेक्ट नेपालले सहजीकरण गरेको हो । जसमा आर्थिक सहयोग दुधौली नगरपालिका हेफर प्रोजेक्ट रहेको थियो ।
नगरपालिकाका प्रवक्ता दिपक खड्काका अनुसार साझेदार संस्थालाई यस वर्ष प्रोजेक्ट संञ्चालनका लागि ७० लाख बजेट नगरपालिकाले छुट्टाएको छ । संस्थाको २० र ७० प्रतिशत नगरपालिकाको लगानीमा नगरमा प्रोजेक्ट अन्र्तगत पशु , कृषीको क्षेत्रमा काम हुनेछ ।
प्रवक्ता खड्काले हाल समूहहरु गठन प्रकृयाको काम भईरहेको बताउनुभयो । ठूलो बजेटको काम अहिले अन्तिम चौमासिकमा समूह गठनमा मात्र पुगेको छ । सोही कार्यक्रमको लागि अध्ययन र तालिमका लागि टोली ईलाम पुगेको पनि प्रवक्ता खड्काले बताउनुभयो ।
जनप्रतिनिधि र कर्मचारी सहितको टोली ईलाम पुगेपछी सामाजिक संञ्जालमा भने आलोचना भएको छ । नगरपालिकाले आफु निकटको संस्थालाई ठूलो रकमको बजेट पारेपछी संस्थाले तालिमको निहुमा सवैलाई खुसी पार्न ईलाम घुमाउन लगेको आलोचना भएको छ ।
जनप्रतिनिधि र कर्मचारीहरु नै नगरपालिका शून्य पारेर ईलाम गएपछी सेवाग्राहीहरुले समेत सेवा पाउन सकेका थिएनन् । यद्यपि प्रवक्ता खड्काले विदाका समय मिलाएर गएको र आईतबार एकदिन मात्रै कार्यालयमा उपस्थित हुन नसकेको बताउनुभयो । त्यसैगरी सवै वडाध्यक्ष तथा कर्मचारीहरुले निमित्त दिएर ईलाम गएको पनि प्रवक्ता खड्काको भनाई थियो ।


जनता भ्वाइस 








