images
images

कटारी बजारको पानी जम्ने स्थानमा ह्युमपाईपबाट समस्या समाधान गरिने

जन्ताभ्वाईस सम्वाददाता
१३ वैशाख , बुधबार , २०८०
कटारी/ कटारी , ४ स्थित बजारमा रहेको पानी जम्ने खाल्डोको समस्या समाधानका लागि तत्काल नगरपालिकाले ह्युमपाईप राख्ने र वर्षादमा समस्या समाधान गर्ने भएको छ । बुधबार कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठले उक्त पानी जम्ने स्थानको समस्या समाधानका लागि सर्वदलिय साथै सरोकारवालाहरुको भेला बोलाउनुभएको थियो ।
भेलाले हाललाई ह्युमपाईप राख्ने र सडक डिभिजन कार्यालयले दिर्घकालिन समाधानका लागि सडक निर्माणको कामलाई अघि बढाउने निष्कर्ष निकालेको मेयर श्रेष्ठले बताउनुभएको हो । कटारी बजारमा रहेको सिद्धिचरण राजमार्गमै पानी जम्ने र विशेषगरी वर्षादमा आउजाउ नै समस्या हुने गरी दह हुने भएकाले समस्या समाधानका लागि भेला राखिएको थियो ।
भेलामा राजनीतिक दल , सरोकारवाला , स्थानीय लगायतका उपस्थिति रहेको थियो । भेलामा वोल्दै सरोकारवालाहरुले यसको तत्काल समस्या समाधान गरिनुपर्ने बताएका थिए । यसले कटारी मात्रै नभई यस सडकबाट आउजाउ गर्ने पहाडी जिल्लाका यात्रुहरुलाई समेत समस्या पार्ने गरेको छ ।
यस स्थान कटारीका लागि क्यान्सरकै रुपमा देखिएकोले सवै मिलेर समस्या समाधान गर्नुपर्ने मेयर श्रेष्ठले बताउनुभएको थियो । भेलामा कटारी नगरपालिकाकी उपमेयर गिता खड्का तथा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।