जन्ताभ्वाईस सम्वाददाता
१० वैशाख , आईतबार , २०८०
कटारी /समयमै सडक मर्मत नगरेको भन्दै सिद्धिचरण राजमार्ग अन्र्तगत उदयपुरको कटारी नगरपालिका वडा नम्बर २ मा स्थानीयले सडक बन्द गरेका छन् । समयमै सडक स्तरउन्नती नभएको भन्दै कटारी वडा नम्बर २ मा स्थानीयले खोक्सामा आज सडक बन्द गरेका हुन् ।
राजमार्ग अन्र्तगत वेलसोत–गराँस–खोक्सा सडकखण्डको ४ किलोमिटर सडक स्तरउन्नतीको काम ४ वर्षमा पनि सम्पन्न नभएको भन्दै स्थानीयले सडक बन्द गरेका हुन् । सडक नबन्दा धुलो धुँवाका कारण स्थानीय आजित बनेको भन्दै सडक वन्द गर्नु वाध्य बनेको स्थानीय शंकर बुढाथोकीले बताउनुभयो ।“चारवर्षदेखि धुलो खाएर आजित भएका छौं , पटक पटक भन्दा पनि सडक बन्दैन् ।”बुढाथोकीले भन्नुभयो “बन्दको विकल्प नभएका कारण हामी सडकमा आएका हौं ।”
उक्त सडकखण्ड अमृत काश्यप जेभीले २०७७ असार २६ गते २०७८ जेठ ३० मा सक्नेगरी स्तरउन्नतीको काम थालेको थियो । उक्त समयमा निर्माण सम्पन्न नभएपछी पुन २०७८ चैत्र ३० सम्म सक्नेगरी म्याद थपिएको भएपनि सडक भने निर्माण हुन सकेको छैन् ।जेभीले ५ करोड ८२ लाखमा सडक स्तरउन्नती गर्ने ठेक्का पाएको थियो ।
सडक स्तरउन्नतीका लागि भएको सडकपनि भत्काएर छोडिएपछी धुलोका कारण स्थानीय मारमा परेका छन् । सडक बन्द भएपछी आज विहानदेखि कटारीबाट मिर्चैयाहुँदै अन्यत्र जाने सवारीसाधनहरु बाटैमा रोकिएका थिए । कटारी –मिर्चैयाका दुवै तर्पmका सवारीसाधनहरुलाई आउजाउमा स्थानीयले रोक लगाईएका थिए ।
सडक बन्दका कारण विद्यालय आउजाउ गर्ने विद्यालयका सवारीसाधन समेत आईतबार चल्न सकेनन् । त्यसैगरी मालवाहक , यात्रुबाहक सवारीसाधनहरु पनि संञ्चालनमा आउन सकेका थिएनन् । कटारी घुर्मी सडक आयोजना कार्यालयका प्रमुख केशव ओझाले ठेकेदारलाई ताकेता गरिसकेको र तत्काल काम सुरु गर्न निर्देशन दिईसकेको बताउनुभयो । निर्देशन पश्चात ठेकेदारले काम थाल्ने प्रतिवद्धता पछी आज साँझ देखि सडक खुलेको पनि प्रमुख ओझाले बताउनुभयो ।


जनता भ्वाइस 







