images
images

उदयपुरको दुई पहाडी पालिकामा हाटबजार सुरु

जन्ताभ्वाईस सम्वाददाता
२ वैशाख , शनिबार , २०८०
कटारी / उदयपुर जिल्लाको पहाडी भेगमा रहेको दुई स्थानमा हाटबजार लगाउन सुरु गरिएको छ । नयाँ वर्ष २०८० को अवसर पारेर जिल्लाको लिम्चुङबुङ् र रौतामाई गाउँपालिकाले हाट बजार सुरु गरेका हुन् ।
लिम्चुङबुङ्को केन्द्र बाराहाको कटुवाल भञ्ज्याँङ्गस्थित राईचोकमा शुक्रबारदेखि ५ दिने हाटबजार सुरु गरिएको गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताउनुभयो । “गाउँपालिकालाई समृद्ध बनाउन स्थानीय कृषकहरुले उत्पादन गरेको उत्पादनलाई बजारीकरण गर्न हाटबजारको आयोजना गरेका हौं ।”अध्यक्ष राईले भन्नुभयो “यहाँको आर्गनिक उत्पादन जिल्ला सदरमुकाम गाईघाटमा सम्म माग बढ्दो छ त्यसलाई पुरा गर्न सके गाउँपालिका समृद्ध बन्छ ।”
हाटबजारमा स्थानीयले उत्पादन गरेका स्थानीय आर्गनिक ,आलु , काउली ,केरा ,खुर्सानी , साग लगायतका उत्पादनको किनबेच भईरहेको हाटबजार व्यवस्थापन समितिका संयोजक कर्णशेर राईले बताउनुभयो । त्यसैगरी अर्को पहाडी भूभागमा पर्ने माझखर्कमा पनि शुक्रबारदेखि हाटबजारको सुरुवात गरिएको छ ।
रौतामाई गाउँपालिका वडा नम्बर १ मा पर्ने माझखर्कमा द्वन्दकालपछी पहिलो पटक नयाँ वर्षको अवसर पारेर हाटबजार लगाउन सुरु गरिएको हो । जिल्लाको पहाडी भूभागको मध्यभागमा पर्ने माझखर्कमा द्वन्द सुरुभएपछी त्यहाँको हाटबजार बन्द भएको थियो ।
शुक्रबारदेखि त्यहाँ हरेक महिनाको १ गते र १५ गते नियमित हाटबजार लगाउन सुरु गरिएको गाउँपालिकाका अध्यक्ष विरेन्द्र मगरले बताउनुभयो । हाटबजारले स्थानीय उत्पादन गर्न कृषकहरुलाई प्रोत्साहन मिल्नुका साथै उत्पादित उत्पादनलाई किनबेच गर्न सहज बनाउने पनि अध्यक्ष मगरले बताउनुभयो । दुवैस्थानका हाटबाजारले जिल्लाको पहाडी भूभागका कृषकहरुलाई उत्पादन बजारीकरण गर्न सहज बनाउने अपेक्षा राखिएको छ ।