जन्ताभ्वाईस सम्वाददाता
२ वैशाख , शनिबार , २०८०
कटारी / कटारी नगरपालिका यस पटक बेरुजु घटाउन सफल भएको छ । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ अनुसार गत वर्ष भन्दा यस पटक आर्थिक वर्ष २०७८/०७९ मा कटारी नगरपालिकाले २ करोड ४९ लाख ९ हजारले बेरुजु घटाएको हो ।
कटारी नगरपालिकामा १ अर्व ८९ करोड ८६ लाख ७७ हजार मध्ये ७ करोड ६ लाख ४७ हजार अर्थात ३.७२ प्रतिशत बेरुजु रहेको छ । आर्थिक वर्ष २०७७÷७८ को बेरुजु ९ करोड ५५ लाख ५६ हजार मध्ये २ करोड ४९ लाख ९ हजारले बेरुजु घटेर आएको छ ।
यस अघि आर्थिक वर्ष २०७७/७८ मा कटारी नगरपालिका ५ दशमलव १६ प्रतिशत सहित उदयपुरमा सवैभन्दा बढी वेरुजु भएको स्थानीय निकाय थियो । यस पटक प्रशासनिक रुपमा सुधार गर्दै नगरपालिकाले बेरुजु घटाएको हो । ५ दशमलव १६ प्रतिशतबाट बेरुजु घटाएर ३.७२ प्रतिशत मात्र बेरुजु देखिएको छ ।
हरेक काम गर्दा निर्णय गरेर मात्रै गर्ने प्रकृयागत रुपमा काम गर्ने गरेकाले बेरुजु घटाउन सफल भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो । “सवैभन्दा बढी शिक्षा क्षेत्रमा विद्यालयहरुलाई दिएको पेश्कीबाट बेरुजु देखिएको छ यो घटाउँदै छौं अर्को वर्ष झन धेरै बेरुजु घट्नेछ ।”अधिकृत किरातीले भन्नुभयो ।“उपभोक्ता समितिलाई काम दिंदा उनीहरुले अरुलाई ठेक्का दिंदा बेरुजु बढ्ने गरेको रहेछ त्यसलाई कम गरेकाले पनि बेरुजु घट्यो ।”
प्रकृयागत रुपमा निर्णय गरेर मात्रै काम गर्ने गरेकाले बेरुजु घट्दै गएको र आगामी वर्षहरुमा बेरुजु शून्य तर्पm लैजान प्रयास गरिरहेको पनि अधिकृत किरातीले बताउनुभयो । यस पटक उदयपुरमा १२ अर्व २९ करोड ३ लाख ४५ हजार मध्ये ४३ करोड २७ लाख ९१ हजार बेरुजु पुगेको छ ।
यस अघि जिल्लाका ८ वटै स्थानीय तह मध्ये २९ करोड ८२ लाख २० हजार थियो भने आर्थिक वर्ष २०७८/०७९ मा बेरुजु १३ करोड ७९ लाख ८ हजारले बढेर ४३ करोड २७ लाख ९१ हजार पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ उदयपुरमा सबैभन्दा बढी त्रियुगा नगरपालिकाको बेरुजु देखिएको छ भने सबैभन्दा कम उदयपुरगढी गाउँपालिकाको बेरुजु देखिएको छ ।
महालेखा परीक्षणको प्रतिवेदन अनुसार त्रियुगा नगरपालिकामा २ अर्व ७० करोड १३ लाख ८७ हजार रकम मध्ये १२ करोड २५ लाख २५ हजार अर्थात ४.५४ प्रतिशत बेरुजु बढेर गएको छ । मलेपको आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा त्रियुगा नगरपालिकामा बेरुजु ६ करोड ८२ लाख ९९ हजार रहेको थियो भने पछिल्लो प्रतिवेदन २०७८/७९ मा बेरुजु ५ करोड ४२ लाख २६ हजारले बढेर गएको छ ।
चौदण्डीगढी नगरपालिकाको बेरुजु बढेर ५ करोड ४ लाख २२ हजार पुगेको छ । चौदण्डीगढीमा कुल बजेट १ अर्ब ८२ करोड ९१ लाख ६६ हजारमध्ये २.७६ प्रतिशत बेरुजु छ । यसअघि चौदण्डीगढीमा १ करोेड ९ लाख ९ हजार बेरुजु थियो ।
लिम्चुङबुङ गाउँपालिकामा ८७ करोड २१ लख १ हजार रकममध्ये २ करोड २ लाख ३९ हजार अर्थात ४.५४ प्रतिशत बेरुजु देखिएको छ । यसअघि लिम्चुङबुङको बेरुजु १ करोड ७० लाख ३७ हजार बेरुजु थियो । बेलका नगरपालिकामा १ अर्ब ६३ करोड २४ लाख ४१ हजारमध्येबाट ५ करोड ६४ लाख ३५ हजार अर्थात ३.४६ प्रतिशत पुगेको छ । बेलका नगरपालिकाको यसअघि ३ करोड ८२ लाख ६० हजार बेरुजु थियो ।
ताप्ली गाउँपालिकामा ८४ करोड ६९ लाख १२ हजारमध्ये बेरुजु ३ करोड ८७ लाख ८ हजार अर्थात ४.५७ प्रतिशत पुगेको छ । यस अघि १ करोड ७० लाख ३७ हजार बेरुजु थियो ।रौतामाई गाउँपालिकामा १ अर्ब १२ करोड ५६ लाख ३९ हजार रकम मध्ये बेरुजु ५ करोड ७२ लाख ५ हजार पुगेको छ ।
यस अघि १ करोड ४५ लाख ९९ हजार बेरुजु थियो । उदयपुरगढी गाउँपालिकामा १ अर्ब ३८ करोड ४० लाख २२ हजार रकममध्ये बेरुजु ४५ लाख ८२ हजारबाट बढेर १ करोड ६६ लाख १० हजार अर्थात १.२ प्रतिशतमा पुगेको छ । यस अघि ०.३८ प्रतिशत बेरुजु रहेको मलेप प्रतिवेदनमा उल्लेख छ ।


जनता भ्वाइस 








