जन्ताभ्वाईस सम्वाददाता
२३ , चैत्र , बिहिबार , २०७९
कटारी / कटारी नगरपालिकाका जनप्रतिनिधि , कर्मचारी तथा मेलमिलापकर्ताहरु क्षमता विकासका लागि तालिमको आयोजना गरी पोखरा पुगेपछी आलोचित बनेका छन् ।नगरपालिकाको न्यायिक समितिका संयोजक समेत रहनुभएका उपमेयर गीता खड्का सहित केहि जनप्रतिनिधि निकटका मेलमिलापकर्ताहरु ८ दिनको तालिमका लागि पोखरा पुगेपछी आलोचना बढेको हो ।
आयोजक नै न्यायिक समिति कटारी नगरपालिका रहेको तालिम भने कास्कीको पोखरामा शनिबारदेखि जारी छ । पोखराको एक होटलमा जारी तालिमको सहजिकरण एवं प्राविधिक सहयोग जनहित संरक्षण मञ्च (प्रो पब्लिक) अनामनगर , काठमाडौंले गरेको छ । कटारी नगरपालिकाको आप्mनै सभा हल पनि छ , साथै कटारी बजारमै सुविधा सम्पन्न हल रहेको होटल पनि छ ।
तर गण्डकी प्रदेशको पोखरामा तालिम गर्नका लागि नगरपालिकाले झण्डै १० लाख बजेट खर्चेको छ । मेलमिलाप सम्बन्धि आठ दिवसिय आधारभूत तालिमका लागि कटारीका जनप्रतिनिधि सहित ४६ जना पोखरा पुगेका हुन् । नगरको बजेट खर्चेर नगरको आयोजनामा आयोजित तालिम अन्यत्र गरिएको भन्दै स्थानीयले आलोचना गरेका हुन् ।
नगरभित्रै आन्तरिक कार्यक्रमहरु गर्ने र अन्यत्रका कार्यक्रमहरु समेत नगरमै गरी नगरलाई आर्थिक , पर्यटकीय रुपमा चलायमान बनाउनुपर्ने नगरकै तालिम अन्यत्र आयोजना गरिएको हो । नगरको बजेटबाट जनप्रतिनिधिहरु पोखरामा घुम्न र रमाउन पुगेको भन्दै सामाजिक संञ्जालमा समेत विरोध भईरहेको छ ।
नगरपालिकाकी उपमेयर तथा न्यायिक समितिका संयोजक गीता खड्काले भने आवाशीय तालिम भएकाले थप प्रभावकारी बनाउन पोखरा स्थान छनौट गरेको बताउनुभयो । “यहाँ तालिमहुँदा घरबाट तालिममा समयमा नआउने समयभरी तालिममा नवस्ने र प्रभावकारी नहुने भएपछी पोखरा गएका हौं ।”उपमेयर खड्काले भन्नुभयो “आर्थिक रुपमा पनि त्यतिधेरै फरक छैन् झण्डै उस्तै उस्तै हो ।”


जनता भ्वाइस 








