-भीमबहादुर पौडेल “घाँसे”
हेर्छिन् आमा नजर ननिको, काख सन्तान खाली ।
माया उस्तै वदन मलिनो, हुन्छ सारा निहाली ।।
कोही रुन्छन् उदरभरक्यै, खानु चारो नपाई ।।
कोही हिड्छन् चरमचुलिमा, कार चिल्लो गुडाई ।।१।।
कोही न्याना उजर कपडा, स्वर्गझैँ मोज पारा ।
कोही नाङ्गा शरिर दुःखको, चित्र कोरिन्छ सारा ।।
कोही बस्ने महल रमिता, कौशि फेरो घुमाई ।।
कोही बस्ने झुपडि खरका, छैन सौगात केही ।।२।।
हेर्छिन् दिन्दिन् चलनयिनको, लाग्छ खेला विचित्र ।
मेरै सन्तान् उदरउहिहो, जात जन्मे मभित्र ।।
सारा बोल्छन् गुुठ र उपगुठ् , डम्फु आफ्नै बजाई ।।
सस्कृतीको नत छ महिमा, लिन्छ सीको पाराई ।।३।।
फुट्नू जुट्नू नियति यिनको, चल्छ निर्लज्ज खेल ।
सम्वृद्धीको लहर नछुने, थाति आफ्नै झमेला ।।
यस्तै गर्दै समय वितिगो खैत ? सम्वृद्धि धार ।।
हेर्छन् माथी विकल तलका, बोझ बोकी अपार ।।४।।
खाचो थीयो नगरि युगको, दाँज मीलाइ लाने ।
आशा थीयो सकल धुरिको, खोट मेटेर जाने ।।
खेला धेरै थरिथरि उठे, छैन मेसो रटाई ।।
छिर्ने गिर्ने चलन रहँदा, हुन्छ साँढे जुधाई ।।५।।
मेरा सन्तान अवत अतिभो, ज्ञान सम्वृद्धि जागोस् ।
भोका नाङ्गा निरिह सबको, मर्मको ताप भागोस् ।।
छाती मेरा चरचर दुःखी, रुन्छ आँशु बगाई ।।
देख्ता यस्तो कसरि म भुलू , शान्ति दीगो नआई ।।६।।
-कटारी , ४ , उदयपुर


जनता भ्वाइस 







