जन्ताभ्वाईस सम्वाददाता
११ चैत्र , शनिबार , २०७९
कटारी / यही चैत्र २८ गते मंगलबार कटारीमा हुने ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं अभियान’ कार्यक्रमलाई सम्बोधन गर्न दुर्गा प्रसाई आउने हुनुभएको छ । नागरिक बचाऔं अभियान अभियानले आज कटारी ३च्याँगामा विशेष पत्रकार सम्मेलनको आयोजना गरी अभियानबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै अभियानका उदयपुरका अभियन्ता निशान राईले दुर्गा प्रसाई प्रमुख अतिथि रहने उक्त कार्यक्रममा सहभागी हुन सवैलाई आग्रह गर्नुभयो ।
अभियन्ता राईले कार्यक्रममा देशका वित्तीय संस्थाहरुको ज्यादतीका कारण आम नागरिकमा बढ्दै गइरहेको गरीबीले कसरी देशको आर्थिक तथा सामाजिक संरचना नै ध्वस्त बन्दै गइरहेको छ, त्यसको बारेमा प्रमुख अतिथिले अब चाल्नुपर्ने कदम र समाधानबारे प्रष्ट पार्नुहुने बताउनुभयो ।पत्रकार सम्मेलन गर्दै वैंकको व्याजदर ५ प्रतिशतमा झारेर व्यवसायीहरुलाई राहत दिने तथा वित्तीय संस्थाहरुबाट पीडितहरुलाई २० लाख ऋण मिनाहा गर्नुपर्ने प्रसाईको अभियानमा देश र जनता लामवद्ध भएको अवस्थामा कटारीमा कार्यक्रम गर्न लागिएको उल्लेख गरिएको छ ।
कार्यक्रममा वोल्दै अभियन्ता विजय थापाले कटारीमा पनि केही सामन्ती तथा वैंक र वित्तीयबाट धेरै पीडित भएको पाईएकाले कार्यक्रम गरी अभियान चलाउन लागिएको बताउनुभयो ।


जनता भ्वाइस 








