जन्ताभ्वाईस सम्वाददाता
२९ फागुन , सोमबार , २०७९
कटारी /उदयपुरमा सम्पन्न अन्तरपालिका जिल्ला स्तरीय १२ औं राष्ट्रिय रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा कटारी नगरपालिका दोस्रो हुन सफल भएको छ । फागुन , २६ देखि २८ सम्म गाईघाट स्थित थरुहट रंगशालामा सम्पन्न प्रतियोगितामा जिल्लाका ८ स्थानीय तहमध्ये सवैभन्दा बढी मेडल हात पारेपनि स्वर्ण पदकका आधारमा कटारी दोस्रो हुँदा त्रियुगा नगरपालिका प्रथम भएको हो ।
त्रियुगाले २३ स्वर्ण पदक प्राप्त गर्दा कटारीले १९ स्वर्ण पदक पाएको हो । १९ स्वर्णका साथमा कटारीले ३९ रजत ,२४कास्यपदक पनि प्राप्त गरेको थियो । प्रतियोगितामा एथलेटिक्स तर्पm जिल्लामै उत्कृष्ट कटारीकै छात्र तर्पm श्रवण अधिकारी र छात्रा तर्पm प्रतिक्षा थापा क्षेत्री भए ।

विजय खेलाडीहरुले आज कटारी बजार परिक्रमा गर्दै नगरपालिकाको हलमा एक कार्यक्रम गरी नगरपालिकाले वधाई तथा सम्मान समेत गरेको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथि नगरपालिकाका उपमेयर गिता खड्काले खेलाडी राष्ट्रका गहना भएको बताउनुभयो ।
प्रमुख अतिथि उपमेयर खड्काले खेलाडीहरुलाई मेडल , अविरले सम्मान गर्नुभयो । त्यसैगरी विशेष अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले संरचनाको अभावका वीचमा पनि छोटो तयारीका वावजुत खेलाडीहरुले राम्रो सफलता प्राप्त गरेको भन्दै वधाई दिनुभयो ।
विद्यालयहरुमा विभिन्न सिर्जनात्मक प्रतियोतिगाहरु जारी राखेको वनाउँदै आगामी दिनमा नीतिगत रुपमा नै प्रतियोगिताहरु आयोजना गर्ने बताउनुभयो । अधिकृत किरातीले विद्यार्थी केन्द्रित कार्यक्रमहरु गर्ने बताउँदै पढाईमा समेत ध्यान दिन आग्रह गर्नुभयो । प्रमाण पत्र प्रदान गर्दै किरातीले नीतिगत विकासका लागि खेलकुद विकास समिति गठन भईसकेको बताउनुभयो ।
त्यसैगरी खेलकुद विकास समिति कटारीका उपाध्यक्ष राजकुमार थापाले छोटो अवधिका आधारभुत प्रशिक्षणका लागि प्रशिक्षकहरुको व्यवस्था गर्ने तयारी गर्ने बताउनुभयो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको राष्ट्रिय खेलकुद विकास वोर्ड जिल्ला खेलकुद विकास समिति उदयपुरको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।


जनता भ्वाइस 








