images
images

रौतामाईमा भएको आगलागीमा दुई वालवालिकाको मृत्यु

जन्ताभ्वाईस सम्वाददाता
२६ फागुन ,शुक्रबार , २०७९
कटारी /उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई वालवालिकाको ज्यान गएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका , ८ ,पाँबुका रामबहादुर मगरको ६ बर्षिया छोरी जस्मिन र २ बर्षिया छोरा रोजन मगरको जलेर मृत्यु भएको हो ।
शुक्रबार साँझ करिब ५ बजेको समयमा राम बहादुर मगरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिनुभयो । घटनाका समयमा ज्यान गुमाएका वालवालिकाका अभिभावक आमा वुवा नै सडक निर्माणको कामका लागि घरमा नभएको वुवा रामबहादुर मगरले जानकारी दिनुभयो ।
स्थानीय शिक्षक गौरवबहादुरम मगरका अनुसार घटना सुने लगत्तै वालवालिकाका आमा वेहोस भएको र उनको अहिले जिल्ला अस्पत्ताल उदयपुर गाईघाटमा उपचार भईरहेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोली घटनास्थलमा पुगेर घटनाका विषयमा अनुसन्धान गरिरहेको छ ।घटनामा मानवीय क्षती सँगै सबै सामाग्रीहरु जलेर नष्ट भएको छ ।
आगलागीमा मगरको अन्नपात, लत्ता कपडा, भाँडा भर्तन सबै जल्दा करिब १० लाख बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीले साँझ ६ बजे नियन्त्रणमा लिन सफल भएका थिए ।इलाका प्रहरी कार्यालय भुट्टारबाट प्रहरी टोली र जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरीे टोली हाल घटनास्थल गएर थप अनुसन्धान गर्ने क्रम जारी रहेको छ ।
घटना स्थल सदरमुकामबाट करिब ४५ किलो मिटर र भुट्टार बाट ६ किलो मिटर टाढा रहेको छ ।विद्युत सर्ट भई आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।