images
images

कटारीमा पनि लदी पुजा गर्दै माझी समुदाय , माछा मार्न रगतको वलिदिने माझीहरुको यस्तो छ लोककथा

तस्बिर फेसबुकबाट साभार गरिएको हो ।
जन्ताभ्वाईस सम्वाददाता
१६ फागुन , मंगलबार , २०७९
कटारी / कटारीका माझी समुदायहरुले आज आप्mनो महान पर्व लदी (नदी) पुजा धुमधामका साथमा मनाएका छन् । लदी पुजा अतिसिमान्तकृत माझी समुदायले मनाउने सबैभन्दा ठूलो पर्व रहेको नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति उदयपुरका सचिव दिपक माझीले बताउनुभयो ।
कटारी नगरपालिकाका माझीहरुले तावा र कमला नदीमा लदी पुजा गरेको पनि सचिव माझीले बताउनुभयो ।रिस्कु र मझुवाका माझीहरुले लदी पुजा गरेको माझीको भनाई छ । माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । कोशी पुजालाई माझीहरुले लदी पुजा भन्ने गर्दछन् । हरेक वर्षको फागुन महिनाको तेस्रो मंगलबार माझीहरुले यो पर्व मनाउँदछन् ।
माझीहरुले तेस्रो मंगलबारलाई साईली मंगलबार भन्दछन् । माझीहरुले साईली मंगलबारलाई शुभ दिनको रुपमा लिने गरेका छन् । पानी भन्दा अगाडी जन्म भएको किम्वदन्तीमा विश्वास राख्ने माझी समुदायको पुर्खौली थलो कोशी किनारहरु हो । विशेष गरी पानीको पुजा गर्ने भएकाले पनि यो समुदायले कोशी पुजालाई ठूलो पर्वको रुपमा लिने गर्दछन् ।
लदी पुजाका दिन सामुहिक रुपमा माझीहरुले नजिकैको नदी किनारमा महादेव , मसान , बज्रको साथै ठूलो कोशीको पुजा गर्दछन् । बज्रको पुजा गर्दा घरमा चट्याँगले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायहरुको भनाई छ । पुजामा राँगा , बोका , सुँगुर ,कुखुरा , अण्डा लगायतका फुल अक्षताले पुजा गरिने माझी समुदायका पुजारीहरु वताउँछन् ।
पर्वका अवसरमा सामुहिक रुपमा चेलीबेटी , कुलकुटुम्ब भेला भई भोज खाँदै दुखसुख बाँड्ने प्रचलन रहेको छ । त्यसैगरी पुजामा समुदायको हित हुन सकोस भन्दै प्रकृतिलाई पुजा गर्ने चलन छ । किन्बदन्ती अनुसार माझीको जन्म पछी मात्रै पानीको जन्म भएको र माछा मार्न दुवाली छेक्दा कोशी नछेकिएपछी रगतको बली दिई माछा मार्न सफल भएको लोककथा माझी समुदायमा छ ।