images
images

कटारीमा खागाे किराले टाेक्दा ४ घाईते ,पशु चाैपाया मर्न थाले

जन्ताभ्वाईस सम्वाददाता

१५ , फागुन , साेमबार , २०७९

कटारी / मौरी जस्तै देखिने खागो किराको टोकाईबाट कटारी वडा नम्बर ४ मा ४ जना स्थानीय घाईते भएका छन् । घाइते हुनेमा गवुवाका प्रतिमा सुनुवार , कमल राई , ईच्छाकुमार राई , तानबहादुर दनुवार र हस्तबहादुर मगर रहेका छन् । उनीहरुको कटारी अस्पत्तालमा उपचार गरिएको छ । खतरामुक्त भएपछी आईतबार साँझ उनीहरुलाई अस्पत्तालले घर पठाएको छ ।
कटारी अस्पत्तालका मेडिकल सुपरीटेण्डेड डाक्टर गौरव साहका अनुसार यस्तो खालको टोकाईबाट मानिसको समेत ज्यान जाने खतरा हुन्छ । “कडा खालको विष लागेमा एकघण्टा भित्रमा तुरुन्तै ज्यान पनि जान सक्छ , तर कम विष लागेमा ६ घण्टा सम्म उपचार गर्दा ठिक हुन्छ ।”डा.साहले भन्नुभयो – “एनाफाईलासिस एलर्जी हुन्छ यस्तो टोकाईबाट तुरुन्त डाबर , आउने , ज्वरो आउने , वान्ता हुने , पेट दुख्ने र किड्नीमा समस्या भयो भने ज्यान समेत जान सक्छ ।”
कटारी अस्पत्तालमा आएका विरामीहरुमा पनि ज्वरो आउने , डाबर आउने , वान्ता हुने लक्षण देखिएको र त्यसको उपचार गरी घर पठाईएको डा.साहले बताउनुभयो । कटारी , ४ का वडाध्यक्ष भुपेश तामाङ्गका अनुसार वडामा यसको प्रकोप डरलाग्दो छ । “केहिदिन अघि वडाको सिम्ले , मरुवामा देखिएको यो किरा अहिले भगवानपुर , गवुवा , जुरेलीडाँडा तिर पुगेको छ ।”वडाध्यक्ष तामाङ्गले भन्नुभयो । यसको टोकाईबाट हालसम्म ४ वटा हाँस , २ वटा बाख्रा र एउटा सुंगुर मसिकेको जानकारी दिंदै वडाध्यक्ष तामाङ्गले अहिले पनि दर्जनौ पशु चौपाया गम्भिर घाईते रहेको जानकारी दिनुभयो ।
यस विषयमा नगरपालिकामा समेत जानकारी गराईसकेको वडाध्यक्ष तामाङ्गको भनाई छ । कटारी , ४ का स्थानीय दिपक राईका अनुसार केहि दिन अघि वडा नम्बर ८ को वर्मी जंगल आसपास यो किरा देखिएको थियो । वर्मीमा समेत पशु चौपायामा क्षति पुराएको यो किरा डरलाग्दो गरी आक्रामक छ ।“अगाडी जे भेट्छ त्यसैलाई लखेटी लखेटी टोक्छ , पानी मुनि समेत लखेटेर टोक्दो रहेछ ।”राईले भन्नुभयो । “फिलिम स्टायलले आउँछन घरबारी सवै लखेटेर घरभित्रै पनि टोक्छ मान्छे मात्रै होईन जे भेट्यो त्यसैलाई टोकीहाल्छ । ”
किराको टोकाईबाट घाईते भएका तर अस्पत्ताल नगएका दर्जनौ स्थानीय रहेको पनि राईले जानकारी दिनुभयो । केहि दिन अघि यो सिम्ले गाउँ आसपासका रुखमा हजारौंको संख्यामा देखिएको र मानिसहरुलाई समेत टोकेर घाईते बनाएको वडाध्यक्ष तामाङ्गले जानकारी दिनुभयो ।“मौरीभन्दा केहि ठुलो मौरी जस्तै समूहमा वस्ने र जे भेट्यो त्यसैलाई आक्रमण गर्ने किरा देखिएको छ , यसलाई गाउँलेले खागो भन्दा रहेछन् ।” गाउँमा किरा देखिएपछी अहिले वालवालिकाहरुलाई जोगाउन समेत खतरा बढेको स्थानीयले बताएका छन् ।