जन्ताभ्वाईस सम्वाददाता
७ फागुन , आईतबार , २०७९
कटारी/ कटारीमा चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता आज देखि सुरु भएको छ । कटारी ४ स्थित टाईगर फिल्डमा सुरु प्रतियोगिताको उदघाटन खेलमा कटारी नगरपालिका वडा नम्बर १ लाई १ का विरुद्ध २ गोल गर्दै कटारी वडा नम्बर ४ ले विजयी सुरुवात गरेको छ ।
खेलको पहिलो हाफमा कटारी ४ का लागि अमन सदाले गोल गरेका थिए । सदाको गोलले अग्रता लिएको खेलको दोस्रो हाफमा ४ कै किरण कुमार दनुवारले दोस्रो गोल गरी खेललाई ० का विरुद्ध २ गोलको अग्रतामा पुराए । खेलको अन्तिम समयमा पेनाल्टी पाएको वडा नम्बर १का लागि एमबहादुर सुनुवारले गोल गरेका थिए ।
नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रजातन्त्र दिवशको अवसर पारेर प्रतियोगिताको उदघाटन गरिएको समितिका अध्यक्ष दिपक लामाले बताउनुभयो । उदघाटन खेलमा म्यान अफ द म्याच कटारी ४ का अमन सदा घोषित भए । उनलाई समितिका अध्यक्ष दिपक लामाले नगद , मेडल , जर्सी प्रदान गर्नुभयो ।
प्रतियोगिताको उदघाटन गर्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले खेलले शारिरिक विकास हुनुका साथै विकृति विसंगतिको अन्त्य गर्ने र सामाजिक विकास हुने बताउनुभयो ।
यसपटक अघिल्लो कपहरु भन्दा फरक रहेको मेयर श्रेष्ठको भनाई थियो । त्यसैगरी नगरपालिकाकी उपमेयर गिता खड्काले नगर खेलकुद विकास समितिको पहिलो कार्य सफल होस भन्ने शुभकामना दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले सुरुवात गरेको मेयर कपकै निरन्तरता रहेको बताउँदै तेस्रो मेयर कप साथी समूहले सम्पन्न गरेको स्मरण गराउनुभयो । फिल्डमा प्याराफिट लगायतका कामहरु पूर्व मेयरकै कार्यकालदेखि विकास हुन थालेको बताउँदै उपाध्यक्ष क्षेत्रीले थप विकासमा अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा कटारी नगरपालिकाका वडाध्यक्षहरु , राजनीतिक दलका प्रतिनिधिहरु तथा खेलसँग सम्वन्धित सरोकारवालाहरुको उपस्थिति रहेको थियो । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो ।
त्यसैगरी उत्कृष्ट खेलाडी , गोलरक्षक , सर्वाधिक गोलकर्ता , उदयमान खेलाडीलाई प्रमाण पत्र र मेडलका साथमा नगद २हजार५ सय प्रदान गरिनेछ । समितिका अनुसार म्यान अफ द म्याचलाई मेडल , प्रमाण पत्र र जर्सी सहित एकहजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा कटारी नगरको वडा नम्बर १३ वाहेकका अन्य सवै वडा गरी १३ टिमले प्रतिष्पर्धा गर्नेछन् । खेल दिउँसो र विहान गरी खेलाईनेछ ।
प्रतियोगिता सम्पन्न गर्न कटारीका विभिन्न व्यवसायीहरुले आर्थिक तथा विभिन्न सहयोग समेत गरेका छन् । प्रतियोगितामा उत्कृष्ट एक विधाका लागि कटारीकै अल ईन वान मोवाईल पसलका दिपेन्द्र श्रेष्ठले आयोजकलाई एकथान मोवाईल हस्तान्तरण गर्नुभएको थियो । भोलि विहानको खेलमा वडा नम्बर ३ र वडा नम्बर ६ ले प्रतिष्पर्धा गर्नेछन् ।


जनता भ्वाइस 








