जन्ताभ्वाईस सम्वाददाता
६ फागुन , शनिबार , २०७९
कटारी / डिभिजन वन कार्यालय त्रिवेणी कटारीको आधुनिक भवनको आज (शनिबार )उदघाटन गरिएको छ ।भवनको प्रदेश एकका पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्यले उदघाटन गर्नुभएको हो ।
प्रदेश सरकारको बजेटबाट दुई वर्षअघि निर्माण सुरु भएको भवनको उदघाटन गर्दै मन्त्री आचार्यले वनसँग वाझिएका कानुनहरुको अध्ययन गरी नियमावली बनाउने बताउनुभयो । “वनसँग वाझिएका कानुनहरुको अध्ययन गरेर नियमावली बनाउँछौं ।”भन्त्री आचार्यले भन्नुभयो ।“वन समूहका पदाधिकारीहरुको विवरण , आम्दानीको स्रोत र खर्चहरुसाथै सुधारका योजना बनाउनुहोस ।”
भवनको उदघाटनसँगै कार्यालयका प्रमुख डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले कार्यालयले गरेका प्रगति , भावि योजनाहरुका बारेमा जानकारी गराउनुभएको थियो । “संघीय भूमी ऐन र वन ऐन वाँझिदा समस्या छ ।”प्रमुख घिमिरेले भन्नुभयो –“भूमी ऐनले १० वर्ष वसेकोलाई दर्ता गर्ने भन्छ जुन वन ऐनमा वनमा उल्लेख गरिएको छ ।”
साथै कार्यालयका प्रमुख घिमिरेले अव भवन परिसरमा कम्पाउण्डको पनि आवश्यकता रहेको बताउनुभएको थियो । द्वन्द्वकालमा बम विष्फोट भएको पुरानो भवनसँगै आधुनिक र सुविधा सम्पन्न चार तले भवन २९ साउन २०७७ मा सम्झौता भई सोही वर्षको भदौदेखि निर्माण कार्य सुरु भएको थियो । दुई वर्ष अर्थात् २८ साउन २०८० भित्र निर्माण सकेर हस्तान्तरण गर्ने सम्झौता भए पनि त्यसअघि नै भवन बनि सकेर पनि संञ्चालनमा आएको थियो ।
भवन निर्माणको जिम्मा भ्याटबाहेक चार करोड ३० लाख ९८ हजार आठ सय ७९ रुपैयाँ ५९ पैसामा मिसन कन्स्ट्रक्सन एन्ड सप्लायर्स बानेश्वर काठमाडौँले लिएको थियो । समय अगावै भवन निर्माण गरिदिएको भन्दै कार्यक्रममा निर्माणको जिम्मा लिएका ईन्जिनियर सुरेन्द्र जयसवाललाई सम्मान समेत गरिएको थियो ।प्रदेश १ का सदस्य रामकुमार खत्री लगायतका सरोकारवालाहरुको उपस्थितिमा भनको उदघाटन गरिएको थियो ।
पुरानो डिभिजन भवन परिसरमा निर्माण गरिएको भवन भित्री बाहिरी दुवै आधुनिक र आकर्षक डिजाइनको छ । कार्यालय प्रमुख कक्ष, सशस्त्र वन रक्षक व्यारेक, कर्मचारी कक्ष, सभाहल भएको भवनको माथिल्लो तला प्रमुख आवास प्रयोजनमा उपयोग हुनेछ ।द्वन्द्वकालमामा बम विष्फोटपछि विस्थापित बनेको वन कार्यालय झन्डै दुई दशकपछि आफ्नै आधुनिक भवनमा सरेको हो ।
२०६० सालमा तत्कालीन माओवादीले बम विष्फोट गरी भवन ध्वस्त पारेपछि विस्थापित भएका वन कार्यालयले १९ वर्षपछि आफ्नै भवन पाएको हो । साविक कटारी नगरपालिका– ५ स्थित लालपुरमा रहेको वन कार्यालय ध्वस्त भएपछि विस्थापित भएको थियो ।
विस्थापित भएपछि कार्यालय कटारी नगरपालिका वडा नम्बर ३ र ४ का विभिन्न घर भाडामा लिएर कार्यालय सञ्चालन हुँदै आएको थियो । पछिल्लो पटक आधुनिक भवन पाएपछि डिभिजन वन कार्यालय कटारी (त्रिवेणी) ले आफ्नै भवनबाट सेवा दिन थालेको डिभिजन वन कार्यालयका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।
चौथो तलासम्म जान विद्युतीय भर्याङ (लिफट) समेतको व्यवस्था रहेको छ । भवनको हरेक तलामा पुरुष महिला शौचालय, खानेपानीको सुविधा छ । उदयपुरमा लिफ्टसहितको सरकारी भवन यो नै पहिलो हो । लिफ्ट जडान भएकाले अपांगता र अशक्त सेवाग्राही र वृद्धवृद्धालाई सहज र अपांगमैत्री भवन निर्माण भएको हो । द्वन्द्वकालमा बम विष्फोटपछि जिर्ण बनेको भवन २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएपछि नयाँ भवन निर्माण सुरु गरिएको थियो ।यो कार्यालयले उदयपुरको क्षेत्र नम्बर २ का सेवाग्राहीहरुलाई सेवा दिंदै आएको छ ।


जनता भ्वाइस 








