जन्ताभ्वाईस सम्वाददाता
३ फागुन , बुधबार , २०७९
कटारी / चौथो कटारी नगर मेयर कप फुटबल प्रतियोगिता आगामी फागुन ७ गतेदेखि १४ गते सम्म हुने भएको छ । नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रजातन्त्र दिवशको अवसर पारेर प्रतियोगिता गर्न लागिएको हो ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले ७ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको जानकारी गराएको हो । सार्वजनिक गरिएको तालिका अनुसार उदघाटन खेल वडा नम्बर ४ र वडा नम्बर १ वीच हुने छ ।तालिका अनुसार कटारी नगरको वडा नम्बर १३ वाहेकका अन्य सवै वडा गरी १३ टिमले प्रतिष्पर्धा गर्नेछन् । खेल दिउँसो र विहान गरी खेलाईनेछ ।
प्रतियोगिताका लागि मैदान सरसफाई तथा अन्य तयारीलाई तिव्रता दिएको बताउँदै खेलकुद विकास समति कटारीका अध्यक्ष दिपक लामाले व्यवस्थित किसिमले खेलकुदको कार्यक्रम गर्न समिति लागि परेको बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल , कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । त्यसैगरी उत्कृष्ट खेलाडी , गोलरक्षक , सर्वाधिक गोलकर्ता , उदयमान खेलाडीलाई प्रमाण पत्र र मेडलका साथमा नगद २हजार५ सय प्रदान गरिनेछ ।
समितिका अनुसार म्यान अफ द म्याचलाई मेडल , प्रमाण पत्र र जर्सी सहित एकहजार नगद प्रदान गरिनेछ ।


जनता भ्वाइस 








