जन्ताभ्वाईस सम्वाददाता
१, फागुन , सोमबार , २०७९
कटारी /उदयपुर उद्योग वाणिज्य संघ कटारीको १६ औं साधारण सभाको उदघाटन सत्र आज सम्पन्न भएको छ । संघको सभाहलमा संघका अध्यक्ष पुष्कर खड्काको सभापतित्व र कटारी नगरपालिकाका प्रमुख मेयर राजेशचन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सभाको उदघाटन गरिएको हो ।
कार्यक्रमको विशेष अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश उपाध्यक्ष तथा केन्द्रीय सदस्य साथै सार्क चेम्बर अफ कमर्सका सदस्य राजेन्द्र राउत , कटारी नगरपालिकाका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठ , उपमेयर गिता खड्का , उदयपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा केन्द्रीय सदस्य तिर्थकुमार श्रेष्ठ रहनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै मेयर श्रेष्ठले नगर सवैको भएकाले यसको विकासमा सवैको उत्तिकै भूमिका रहने बताउनुभयो । मेरो नगर हो भन्ने भावनाले विकासका लागि अघि बढ्न पनि मेयर श्रेष्ठले आग्रह गर्नुभयो ।

त्यसैगरी विशेष अतिथि महासंघका प्रदेशका उपाध्यक्ष तथा केन्द्रीय सदस्य राउतले विगतको तुलनामा कटारी बजारको व्यापार घट्दै गएको बताउँदै मूख्य समस्या मिर्चैया कटारी सडक रहेको बताउनुभयो । “पूर्वाधार नभएसम्म व्यापार हुँदैन ”उहाँले भन्नुभयो –“मदन भण्डारीले लाईफ लाईन त बन्यो तर मूख्यगरी सिद्धिचरण राजमार्ग बन्नु आवश्यक छ ।”
त्यसैगरी कटारीमा आन्तरिक राजश्व कार्यालयको सम्पर्क कार्यालयको आवश्यकता रहेको र त्यसका लागि आफुले पहल गर्ने राउतको भनाई थियो । विगत २ दशकदेखि यस क्षेत्रमा व्यवसाय गर्दै आएको बताउँदै राउतले कटारीको व्यापार विगतभन्दा ७५ प्रतिशतले घटेकाले यसलाई बढाउन लागि पर्ने बताउनुभयो ।

त्यसैगरी कटारी नगरका पूर्व मेयर ज्ञानेन्द्र श्रेष्ठले विकास सवैको साझा सहमतिबाट हुने बताउँदै कटारीको विकासमा संघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । “व्यापार संघको पहलमा यो सडक बनाउन डेलिगेसन गयौं ।”उहाँले भन्नुभयो –“अहिले ठेक्का लागेको छ यसमा संघको भूमिका महत्वपूर्ण छ ।”
कटारी नगरपालिकाका उपमेयर गिता खड्काले संघले खेलेको भूमिका राम्रो भएपनि प्रष्ट देखिने सामाजिक कार्यहरु गर्न आवश्यक रहेको बताउनुभयो । सामाजिक विकास र रुपान्तरणमा व्यापारीहरुको ठूलो भूमिका हुने बताउँदै उपमेयर खड्काले सामाजिक कार्यहरु गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वोल्दै त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले व्यवसायिक एकता आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो । त्यस्तै सिन्धुली उद्योण वाणिज्य संघका पूर्व अध्यक्ष अमरेस चन्द्र वैदारले संघले ठूलो मेला महोत्सव गरेर प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका नगर सभापति प्रकाश थापा , एमालेका नगर कमिटीका सचिवालय सदस्य राजकुमार थापा , माओवादी केन्द्रका नगर अध्यक्ष मणिराज दाहाल , राष्ट्रिय स्वतन्त्र पार्टीका अनिल श्रेष्ठ , जनता समाजवादी पार्टीका यज्ञकुमार राई र एकिकृत समाजवादी पार्टीका हृदय ताामाङ्गले शुभकामना मन्तव्य राखेका थिए । संघका उपाध्यक्ष अरुण साहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै उदयश्री बहुमुखी क्याम्सका प्रमुख मुकेश थापाले कटारीमा व्यापार घटेको बताउनुभयो ।

यहाँको भूगोलले समेत ठगेको बताउँदै यहाँ ठूलो उद्योगहरु राख्न नसक्नु तथा यहाँको व्यापारीहरुले यहाँ लगानी नगर्दा व्यापार घटेको बताउनुभयो । आगामी दिनमा आन्तरिक पर्यटन लगायतका क्षेत्रमा अघि बढ्नुपर्ने आवश्यकता रहेको थापाको भनाई थियो ।
कार्यक्रममा कर कार्यालय लहानका प्रमुख पून्यप्रसाद रिजालले राजश्व नछली वैध तरिकाले कारोवार गर्न आग्रह गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा संघले कटारीको व्यापारको क्षेत्रमा ऐतिहासिक भूमिका निर्वाह गरेका व्यापारीहरु सम्मान समेत गरेको थियो ।
सम्मानित हुनेहरुमा पूर्णकाजी श्रेष्ठ , कुबेरनाथ जयसवाल , छेदु चौधरी , रामकृष्ण खड्का , रामगुलाम दास , मोहनकृष्ण श्रेष्ठ , रामेश्वर वास्कोटा , वद्रिका नायक , ध्रुवसिंह कार्की , पदमराज कायस्त , तिर्थकुमार श्रेष्ठ , ईन्द्रबहादुर खड्का , चन्देश्वर प्रसाद जयसवाल र छोटेलाल दास रहेका छन् । उनीहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संघका महासचिव जमानसिंह वस्नेतले प्रगति प्रतिवदेन प्रस्तुत गर्नुभएको थियो । संघको वन्द सत्र आजै साँझदेखि सुरु हुने र आगामी फागुन ३ मा मनोनयन र ६ मा निर्वाचन हुने संघका अध्यक्ष पुष्कर खड्काले बताउनुभयो । उदघाटन समारोहको कार्यक्रम ऋषि राईले संञ्चालन गर्नुभएको थियो ।कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै संघका उपाध्यक्ष मुना कटुवालले संघका लागि वर्षौदेखि काम गर्दै आएकाले आगामी दिनमा पनि साथ दिन आग्रह गर्नुभयो ।


जनता भ्वाइस 








