जन्ताभ्वाईस सम्वाददाता
२९ माघ , आईतबार , २०७९
कटारी / श्री त्रिवेणी मावि कटारी , ४ को ५५ औं वार्षिकोत्सव मनाईएको छ । आज विविध कार्यक्रम गरी विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सवको अवसरमा नेपाल सरकारको नमुना विद्यालय सुधार गुरुयोजना अन्र्तगत भौतिक निर्माण अनुदानको २ करोडको विद्यालयको भवनको पनि उदघाटन गरिएको छ । कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठ र उपमेयर गिता खड्का तथा सरोकारवालाहरुको उपस्थितिमा भवनको उदघाटन गरिएको हो ।
वार्षिकोत्सवलाई सम्वोधन गर्दै प्रमुख अतिथि मेयर श्रेष्ठले कटारी नगरपालिकाले विशेष गरी शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर योजनाहरु बनाईरहेको बताउनुभयो । त्यसैगरी विशिष्ट अतिथि उपमेयर खड्काले विद्यालयले शैक्षिक गुणस्तर वृद्धि र भौतिक निर्माणलाई अघि बढाएकोमा नगरले साथ दिने बताउनुभयो ।
त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले शैक्षिक रुपमा पनि नमुना बनउनुपर्ने भन्दै नेपालको शैक्षिक अवस्था सुधार गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । त्यसैगरी यस विद्यालयबाट पूर्व विद्यार्थी भई देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा रहेकाहरुको प्रोफाईल बनाउन सुझाव दिनुभयो ।
विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्कीले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्दै उत्कृष्ट नमुना विद्यालय बनाउन लागि परिरहेको बताउनुभयो । विद्यालयमा हाल एकहजार ६ सय ८५ विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी गराउँदै ५ कक्षा सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भएको र आगामी दिनमा यसलाई कक्षा १२ सम्म पुराउने लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी उदयश्री बहुमुखी क्याम्पसका प्रमुख मुकेश थापाले असल र चरित्रवान विद्यार्थी उत्पादन गर्नु विद्यालयको कर्तव्य भएकाले समाजको शिक्षा क्षेत्र कता जाँदैछ भन्ने मापन गरेर उपलब्धिको मापन गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालय भवन निर्माण गर्ने व्यवस्थापन समितिका अध्यक्ष रामबावु खड्का तथा समितिका पदाधिकारीहरुलाई सम्मान समेत गरिएको थियो ।
त्यसै गरी विद्यालयको गतिविधिहरुमा पुरष्कृत विद्यार्थीहरुलाई पुरस्कार वितरण , शिक्षकहरुलाई सम्मान लगायतकका कार्यहरु पनि गरिएको थियो । विद्यालयका शिक्षक तथा विद्यार्थीहरु विभिन्न नृत्य तथा कविताहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न अतिथिहरुले शुभकामना मन्तव्य पनि राखेका थिए ।


जनता भ्वाइस 







