images
images

पर्यटकीय गन्तव्य बन्दै गुराँस हरियाली पार्क

जन्ताभ्वाईस सम्वाददाता
२७ माघ , शुक्रबार , २०७९
कटारी /कटारी नगरपालिका वडा नम्बर २ मा रहेको गुराँस हरियाली पार्क अहिले पर्यटकीय गन्तव्य वन्दै गएको छ । एकदशक अघिसम्म कमला नदीको किनारको वगर अहिले भने लोभ लाग्दो पर्यटकीय गन्तव्य वन्दै गएको हो ।
यहाँ अहिले दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । “उदयपुरका साथै सिरहा , सप्तरी , ओखलढुंगा , सोलुखुम्बु ,सिन्धुलीबाट यहाँ घुम्न आईपुग्ने गरेका छन् ।”पार्कका हेरालु हेमबहादुर खप्तरी भन्छन् –“यहाँ घुम्न फोटो खिच्नका साथै बनभोज खान टाढा टाढाबाट समेत आउने गरेका छन् ।”
पार्कमा रहेको च्याउ आकारको फलैंचा , हिमालको आकृतिको कृत्रिम पहाड , वाल उद्यान , डल्फीन फलैंचा , लगायतका संरचनामा पर्यटकहरु रमाउने गरेका छन् । “२०७४ यता नगरपालिकाल लगभग ६० लाख खर्चेर यो पार्कलाई पर्यटकीय क्षेत्र बनाएका हौं ।”वडाध्यक्ष प्रेम थापा क्षेत्रीले भन्नुभयो । “पहिला सिएफएलजी कार्यक्रम मार्पmत सामान्य पोखरी बनाईएको थियो पछी स्थानीय सरकार गठन पछी यसको विकास सम्भव भयो ।”
२ विघा बढी सार्वजनिक जग्गा संरक्षण गर्दै नगरपालिकाले हरियाली पार्कको अवधारणा ल्याएको थियो । पार्कसँगै रहेको कमला नदीपारी सिन्धुली जिल्लाको दुधौली नगरपालिका पर्दछ । उदयपुर र सिन्धुली जोड्न यहाँ आकर्षक झोलुङ्गे पुल निर्माण भएको थियो ।
उक्त पुलमा पर्यटक आउन थालेपछी थप पर्यटकीय विकासको सम्भावना देखेर नगरले हरियाली पार्क निर्माण सुरु गरेको थियो । अहिले यो पार्क यस क्षेत्रको सुन्दर , शान्त तथा आकर्षक पर्यटकीय गन्तव्य वन्दै गएको छ ।