
जन्ताभ्वाईस सम्वाददाता
२० माघ , शुक्रबार , २०७९
काठमाडौं /चर्चित हाँस्य कलाकार गणेश ईशाराले एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम पुनः सुरु गर्ने हुनुभएको छ । कोभिडका कारण रोकिएको उक्त सो उहाँले निरन्तरता दिन लाग्नुभएको हो । ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल नाराका साथ ईशाराको एकल ‘अल नेपाल कमेडी सो’ कार्यक्रम आगामी बैशाख १६ गते काठमाडौंस्थित राष्ट्रिय नाचघरबाट प्रारम्भ गर्ने उहाँको तयारी छ ।
कलाकार ईशारा विगत २०५४ सालदेखि मुटु रोगी, मृगौला रोगी, बृद्ध आश्रामदेखि विभिन्न पिडितहरुलाई उपचार र सहयोग गर्न सफल एक समाजसेवी तथा कलाकार हुनुहुन्छ । कलाकार ईशाराले आफ्नै हजुर आमाको नाममा ‘बिरमाया राई ‘सोभोमा’ स्मृतिकोष स्थापना गरि आउँदा दिनहरुमा बिभिन्न समस्यमा परि भैपरि आउने दुखी, पीडितहरुलाई सहायता दिन सकुँ भन्ने हेतुले स्मृतिकोष निर्माण गरेको बताउनुभयो । कार्यक्रम जुनतारा सास्कृतिक सेवा समाज र झर्ना कला केन्द्रको संयुक्त आयोजनामा हुने छ ।
कलाकार इशाराको गाईजात्रा कोसेली ‘सदन हल र भट्टी पसल उस्तै’, ‘साँढेतन्त्र’ र ‘भद्रगोल डटकम’ रहेको छ । त्यस्तैगरि दर्जनौ म्युजिक भिडियोको निर्देशन र थुप्रै इभेन्ट अर्गानाइज गर्नुभएको छ । कलाकार इशाराले कलाको माध्यामबाट कार्यक्रम गरी थुप्रै मुटु र किड्नी रोगीहरुको उपचार खर्च जुटाईदिएर सहयोग गर्दै आउनुभएको छ ।