images
images

नवीकरण छुटाईदिएपछी कटारी ४ का ७० भन्दा वढीले भत्ता पाएनन् ,भत्ताका आशमा रहेका बुढाबुढीको पेटमा लात मार्दै नगर

-ऋषि राई
१७ माघ , मंगलबार , २०७९
कटारी /स्थानीय निर्वाचनका समयमा भोट तान्न विशेषगरी सामाजिक सुरक्षा भत्तालाई सहज बनाईदिने ,सकेसम्म घरमै पुराईदिने आशा राखेर हात जोड्दै उमेद्वार पुग्छन् । भत्ताको प्रकृया नपुगेकालाई पुराईपनि दिन्छन् । तर चुनाव सकिएपछी सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिलाई जनप्रतिनिधिहरुले पहिचान सम्म गर्न सक्दैनन् ।
ठूलो सास्तीका वीच कटारीका वैंकहरुमा लाईन लागेर ज्येष्ठ नागरिक , फरक क्षमता भएकाहरुले भत्ता पाउँदा युद्ध जितेको महशुस गर्दै आईरहेका छन् । तर यो समस्याले यहाँका जनप्रतिनिधिहरुको मन छोएको छैन् । यस पटक त झन कटारी नगरपालिकाको वडा नम्बर ४ का ७० जना भन्दा बढी सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरुले भत्ता नपाउने भएका छन् ।
सँगैका अरुले भत्ता लिईसक्दा उनीहरुको मन अमिलो भएको छ । सरकारले उपलब्ध गराउने भत्ता समेत वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण नगरिदिएपछी उनीहरु यसपटक वैंकबाट खाली हात फर्किईरहेका छन् ।
कार्तिक मसान्तसम्म गर्नुपर्ने नवीकरण गर्न लाभग्राहीहरु वडाकार्यालय आईपुगेका पनि हुन् । उनीहरुलाई भनिएको जति प्रकृया पुरा पनि गरे तर अहिले आएर थाहा पाए की उनीहरुको नवीकरण नहुँदा भत्ता नै पाउन सकेनन् ।
‘वडा सचिवले नवीकरण गर्न छुटाईदिएछ ।’वडाध्यक्ष भुपेश तामाङ्ले भन्नुभयो –‘सिस्टममा ईन्ट्री गर्ने उसले हो हामीले गर्यो होला भन्ने सोच्यौं अहिले पैसा आएन् ।’पटक पटक वडा कार्यालय जाँदा धेरै विकास गर्न सक्ने वजेट नभएपनि सामाजिक सुरक्षा भत्ता चाहिं कसैको नछुटोस भनेर दबाब दिने गरेको वडा सदस्य जिवराज थापाले बताउनुभयो । ‘जुनकुरा जहिले दबाब दिएँ मैले दबाब दिएकै कुरा छुटाएछन् ।’सदस्य थापाले भन्नुभयो –‘हाम्रो वडा सुस्त तरिकाले चलेको छ । ’
७७ जनाको भत्ता नवीकरण नभएको पाईएपछी विभागमा जानकारी गराईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो । ‘स्थानीय पञ्जाधिकारी वडा सचिव हुन्छ उसले यसलाई अपडेट गर्नुपर्छ गर्दा गर्दै छुटाएछ ।’किरातीले भन्नुभयो –‘वडासचिवलाई किन छुटाएको भनेर स्पष्टिकरण पनि लियौं ।’
वडाध्यक्ष तामाङ्गका अनुसार गएको असारसम्म ६ सय २१ जनाले भत्ता लिएकोमा पहिलो पटक ४ सय ९८ र पुन २२ जना गरी ५ सय २० को नवीकरण भएको पाईएको छ । यो तथ्यांकलाई हेर्दा झण्डै १ सय जनाले भत्ता नपाउने अवस्था देखिन्छ । यसमा लगत कट्टा लगायतका तथ्याँक घटाउँदा पनि ७० जना वढीले ६ महिनाको भत्ता नपाउने भएका छन् ,अर्थात उनीहरु यसपटक भत्ता पाउने आशामा वैंक आएर रित्तो हात , आँखामा आँशु र अमिलो मन बनाएर निरिह तरिकाले घर फर्किईरहेका छन् ।
‘कतिपयको भत्तावाटै गुजारा चल्ने परिवार पनि थिए ’प्रमुख प्रशासकीय अधिकृत किरातीले भन्नुभयो । ‘समस्या भयो यो पैसा हामीले पनि दिन मिल्दैन् , माथिवाट आउने पनि टुंगो छैन् अव फेरी तथ्याँक पठाउँदा नयाँ नवीकरण जस्तै नै पठाउने हो ।’यस वडामा दिवश कार्की वडा सचिव हुनुहुन्थ्यो ।
२०७४ को स्थानीय निर्वाचनपछी जनप्रतिनिधि आए । परिवर्तनका धेरै शंख फुके तर कटारीमा जनप्रतिनिधि पनि छन् र ? भन्ने प्रश्न सोध्ने वेला भएको नगरवासी बताउँछन् । यसवीचमा एउटै वडाको यति धेरै ज्येष्ठ नागरिक , अपाङ्ग लगायतकका सामाजिक सुरक्षा भत्ता समेत नपाउने अवस्थामा पुराएर दुःखीहरुको पेटमा लात मार्ने जनप्रतिनिधिहरु कहाँ छन् ?
सरकारी सुविधाको सवारीमा सयर गर्दै ठूला ठूला परिवर्तनका हावा गफ सामाजिक संञ्जालमा पोष्ट गर्नुभन्दा पहिले यस्ता भुईमान्छेका भत्ता हातमा पुराउन पहल गर्नुपर्ने आजको आवश्यकता हो ।