images
images

चार विद्यालयलाई नमुना उन्मुख बनाउँदै कटारी नगर

केहि समय अघि जनप्रेमी माविमा अनुगमन पश्चातको फोटो । फोटो साभार नगरपालिकाको फेसबुकपेज
जन्ताभ्वाईस सम्वाददाता
१२ माघ , विहिबार , २०७९
कटारी / कटारी नगरपालिकाका चार विद्यालयलाई नमुना उन्मुख बनाउनका लागि नगरपालिकाले प्रयास थालेको छ । गुणस्तरीय शिक्षाका लागि यस वर्ष नगरका चार विद्यालयलाई नमुना विद्यालय बनाउन नगरपालिका लागि परेको हो ।
कटारी , ४ को त्रिवेणी मावि , कटारी ७ को जनप्रेमी मावि , कटारी , २ को जनता मावि गुराँसे र कटारी १२ को जनमुखी मावि वसेरीमा यस वर्षदेखि नमुना विद्यालयको लागि सुधारका प्रयास थालिएको छ । यी चार विद्यालयमा शैक्षिक सुधारका लागि अनिवार्य रुपमा विद्यार्थी लकबुक , शिक्षक डायरी , होमवर्क डायरी , दैनिक पाठयोजना कार्यान्वयनमा ल्याईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीले बताउनुभयो ।
शिक्षकले कति समय आप्mनो घण्टीमा पठन पाठन गरायो मूल्याकंन गर्न विद्यार्थीहरुले लकबुक प्रयोग गर्ने , शिक्षकले के के पढाउने दैनिक डायरी बनाउनुपर्ने , गृहकार्यका लागि होमवर्क डायरी , शिक्षकको दैनिक पाठयोजना र अनिवार्य शिक्षण सामाग्री प्रयोग गर्न सुरु गरिएको पनि प्रमुख प्रशासकीय अधिकृत किरातीले बताउनुभयो । ‘यी विद्यालयमा वेला वेलामा छड्के अनुगमन पनि गरिरहेका छौं । ’अधिकृत किरातीले भन्नुभयो –‘नगरका सवै विद्यालयको शैक्षिक सुधार गर्न अनुगमन गरिरहेका छौं , जसमध्ये यी चार विद्यालयमा भौतिक संरचना दरवन्दी सवै पूर्ण भएकाले पहिलो वर्ष नमुना उन्मुख बनाउन लागि परेका हौं ।’
अन्य विद्यालयमा पनि शैक्षिक सुधारको प्रयास सुरु गरिएपनि कतै भौतिक संरचना अभाव त कतै दरवन्दी अभावको समस्या रहेको अधिकृत किरातीको भनाई छ । अनिवार्य कक्षा समयमा कक्षामा पढाउनुपर्ने , सवै तयारी गर्नुपर्ने भएपछी शिक्षकहरु समेत पूर्ण तयारी अवस्थमा पठनपाठनमा समय लगाउन थालेको त्रिवेणी माविका प्रधानाध्यापक वालकृष्ण कार्कीले भन्नुभयो । ‘देशका अन्य राम्रा विद्यालयहरुले यो प्रयास गरेको शिक्षण भ्रमणमा जानकारी पाएपछी यहाँ पनि सुरु गरेका हौं ।’प्रअ कार्कीले भन्नुभयो –‘विद्यार्थीहरुले शिक्षक र शिक्षकले विद्यार्थीहरुलाई पठनपाठनमा कृयाशिल बनाउन यो प्रयासले सम्भव रहेछ ।’
सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि नगरपालिकाले थालेको यो पहलले शैक्षिक सुधारको लागि सकारात्मक भूमिका निर्वाह गरिरहेको जनप्रेमी माविका प्रधानाध्यापक डोमिला धमलाले बताउनुभयो । ‘सवै सरहरुले यो प्रकृयालाई सहज रुपमा लिनुभएको छ । ’प्रअ धमलाले भन्नुभयो । यस कार्यक्रमलाई प्रभावकारी बनाउन नगरपालिकाको शिक्षा शाखाले विभिन्न अनुगमनलाई निरन्तरता समेत दिंदै आएको छ ।