images
images

शैक्षिक अभियान सहित दोस्रो पटक नेपाल भ्रमणमा निस्किएका यात्री भट्टराई कटारीमा

जन्ताभ्वाईस सम्वाददाता
१८ पुष , सोमबार , २०७९
कटारी / शैक्षिक अभियानको नारा लिएर दोस्रो पटक नेपाल भ्रमणमा निस्किनुभएका भोजपुरका यात्री नवराज भट्टराई कोहम कटारी आईपुग्नुभएको छ । ‘सवको ईच्छा , सार्थक शिक्षा , सफा मन सुन्दर जीवन ’ भन्ने नारासहित भ्रमणमा निस्किनुभएका भट्टराई कटारी आईपुग्नुभएको हो ।
पौवादुङ्गमा गाउँपालिका , ३ च्याँग्रेका यात्री गएको पुष ५ गते सिंहदेवी प्रावि च्याँग्रेबाट शिक्षा प्रणाली सुधारको उद्येश्य लिएर भ्रमणमा निस्किनुभएको थियो । “भोजपुर , खोटाङ्गहुँदै उदयपुरको कटारी आईपुगेको छु ।” भट्टराईले भन्नुभयो –“जिल्लाका विभिन्न विद्यालयहरुमा शिक्षामा सकारात्मक उर्जा दिने कक्षा दिने गरेको छु ।”
कटारीमा चन्द्रावती मावि लेखानी र मावि मरुवामा कक्षा दिईसकेको बताउँदै भट्टराईले अन्य विद्यालयहरुमा पनि कक्षाको आयोजना गर्ने बताउनुभयो । नेपाल सहित विश्वका विभिन्न देशहरु भ्रमण गरिसक्नुभएका भट्टराईले व्यवहारिक शिक्षा , जीवनपयोगी ,सीप , संस्कार र प्रविधियुक्त शिक्षा बनाउन जोड दिनुपर्ने भन्दै सुधारका लागि भ्रमण सुरु गरेको बताउनुभयो ।
दुईवर्षभित्रमा भ्रमण सक्ने भट्टराईको योजना रहेको छ । यस यात्रामा विभिन्न विद्यालयहरु , क्याम्पस , शैक्षिक निकायहरु लगायतका सरोकारवालाहरुसँग समन्वय गरी वर्कसप , सेमीनार , विभिन्न सकारात्मक उर्जा दिने कक्षाहरु आयोजन गर्ने भट्टराईले बताउनुभयो ।
विशेषगरी विद्यार्थीहरुलाई लक्ष्य , सपना , संगत , सकारात्मक सोच , सफलता , लगायतका विषयमा सकारात्मक उर्जा दिने गरेको भट्टराईले बताउनुभयो । भट्टराईसँग यसअघि २०६५ देखि ६७ सालसम्म पत्रकारिता र पर्यटन विकासको लक्ष्य लिएर नेपाल भ्रमण गरेको अनुभव छ ।
यस्तै भट्टराईले , भारत , भूटान , म्यानमार , चीन २०७० सालमा भ्रमण गर्नुभएको थियो ।भट्टराईका ‘नेपालका भ्रमणका ७३० दिन ’विदेश भ्रमण समेटिएको ‘देखेको विश्व र नेपाल ’पुस्तक समेत प्रकाशित छन् । २०६५ मा जम्मा ३ सय ५० लिएर नेपाल भ्रमणमा निस्किएको अनुभव सुनाउँदै भट्टराईले नोट भन्दा पनि केहि गर्ने अठोटले भ्रमणमा निस्किएको बताउनुभयो ।