images
images

कटारी ६ र ७ जोड्ने वैद्यनाथ खोलामा पक्की पुल शिलान्यास (फोटोहरु सहित)

जन्ताभ्वाईस सम्बाददाता
१० पुष ,आईतबार , २०७९
कटारी / कटारी नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने वैद्यनाथ खोलामा पक्की पुल निर्माण हुने भएको छ । आज पुलको प्रदेश एकका सडक तथा पूर्वाधार सहरी विकास मन्त्री हिमाल कार्कीले एक कार्यक्रमका वीच शिलान्यास गर्नुभयो ।
पूर्वाधार विकास कार्यालय उदयपुरको आयोजनामा आयोजित शिलान्यास कार्यक्रममा वोल्दै मन्त्री कार्कीले यस क्षेत्रका स्थानीयको ठूलो समस्या समाधान हुने भएकाले सकेसम्म छिटो पुल निर्माण सक्न निर्माण कम्पनी र कार्यालयलाई निर्देशन दिनुभयो । प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मार्पmत १४ करोड ९४ लाख ७३ हजार १ सयको लागतमा पुल निर्माणको सुरुवात भएको हो ।
२ वर्ष भित्रमा निर्माण सक्नेगरी पुलको केएम ईन्जिनियर्स विल्डर्स प्राली काठमाडौंले ठेक्का पाएको छ । ८४ दशमलव ४० मिटरको पुल २ स्पामको बन्नेछ । पुल निर्माण सम्पन्न भएपछी सोमबारे र रिस्कू आसपासका स्थानीयले ठूलो समस्याको समाधानको महसुस गर्ने कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । ‘यहाँको सुत्केरीहरु उपचार गराउन अस्पत्ताल पुराउन सकेका थिएनन् , वालवालिकाहरु विद्यालयहरु जान सकेका थिएनन् अव धेरै समस्या थियो । ’मेयर श्रेष्ठले भन्नुभयो –‘पुल निर्माणका लागि हामीले गरेको पहल सार्थक भएको छ अव धेरैले राहत महसुस गर्नेछन् ।’
त्यसैगरी नगरपालिकाकी उपमेयर गिता खड्काले पनि वर्षौदेखिको समस्या समाधान हुने बताउनुभयो । कार्यक्रममा वोल्दै निवर्तमान प्रदेश राज्यमन्त्री कला घलेले यस पुल निर्माणको लागि सवै दलले पहल गरेको बताउनुभयो । त्यसैगरी पूर्व सभाषद नारायण बहादुर कार्कीले जनताका लागि काम गर्नु नेताहरुको कर्तव्य भएको बताउनुभयो ।कार्यक्रममा वोल्दै प्रदेश एकका सदस्य रामकुमार खत्रीले यहाँ पुल नहुँदा धेरैले दुःख पाएको बताउनुभयो । अव समस्या समाधान हुने बताउँदै खत्रीले यसले ठूलो क्षेत्रलाई राहत मिल्ने बताउनुभयो ।
सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव अशोककुमार साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वोल्दै पूर्वाधार विकास कार्यालय उदयपुरका प्रमुख गंगासागर यादवले गुणस्तरीय पुल निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष प्रेम मगर , वडा नम्बर ७ का वडाध्यक्ष सुविन ढुंगानाले पुल निर्माणले वडावासी हर्षित भएको बताएका थिए ।