images
images

गाईघाटमा जारी खाना महोत्सवमा साँस्कृतिक खानाको आकर्षण बढ्दो

जन्ताभ्वाईस सम्बाददाता
९ पुष , शनिबार , २०७९
गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमा जारी दोस्रो खाना तथा परिकार महोत्सवमा स्थानीय जातजातिहरुको खानाका परिकारमा आकर्षण बढेको छ । जिल्ला सदरमुकाम गाईघाटमा पुष ४ गतेदेखि जारी साताव्यापी खाना परिकार तथा महोत्सवमा विभिन्न जातजातिहरुको खानाका परिकारहरुको आकर्षण बढेको हो ।
दुई दर्जनवढी खानाका परिकारको स्टलले महोत्सव भरिएको छ । महोत्सवमा विशेषगरी आदिवासी जनजातिहरुको परिकारलाई प्रदशर्नीमा राखिएको छ । आदिवासी जनजातिहरुको संस्कृतिसँग जोडिएको खानाका परिकारलाई मेला घुम्न आउनेहरुले मन पराएका छन् ।
दैनिक जीवनमा नियमित खाना खानेहरु मेलामा फरक तर संस्कृतिसँग जोडिएको आर्गनिक खानाको स्वादमा रमाईरहेका छन् । ‘सवै जातजातिको खानको स्वद लिन पाईएको छ ।’मेला घुम्न आएकी गाईघाटकी सुनिता तिमल्सिनाले भनिन् –‘मेला रमाईलोसँगै महत्वपूर्ण छ ।’
जिल्लाको चौधरी , राई , नेवारी , माझी , मगर , तामाङ्ग , दनुवार लगायतका जाताजतिका खानाका परिकारहरु राखिएको छ । पछिल्लो पुस्ताले साँस्कृतिक खानाका बारेमा जानकारी पाउन पनि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको स्टल राखेकाहरु बताउँछन् । ‘पहिलाको खानाहरु लोप भईसकेका थिए ।’स्टलका साथ मेलामा रहेकी शर्मिला चौधरीले भनिन् –‘यसलाई जगेर्ना गर्नका लागि पनि मेलामा स्टल लिएर आएका छौं । ’
जिल्लाको कृषिजन्य आर्गनिक खानाको पहिचान गराउन महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लामा रहेका जातजातिहरुले उत्पादन गर्ने कृषिजन्य उत्पादनलाई सँस्कृतिसँग जोडेर महोत्सवमा राखिएको मेला आयोजकका गोपाल श्रेष्ठले बताउनुभयो ।
झीगु नेवाः पुच र नेवा देय् दबु उदयपुरको आयोजनामा आदिबासी जनजातीको कला र संस्कृति संरक्षण, आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने उद्देश्य राखेर खाना तथा परिकार महोत्सवको आयोजना गरिएको हो । मेलामा नेवारी परिकारसँगै राई, दनुवार, सुनुवार, मगर समुदायको परिकारहरुमा समेत आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।