तस्बिर सौजन्य कटारी नगरपालिकाको फेसवुक पेज
जन्ताभ्वाईस सम्बाददाता
१५ मंसिर , विहिबार , २०७९
कटारी / कटारी नगरपालिकाले फरक क्षमता भएका ७७ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि २०७५ ले गरेको व्यवस्था बमोजिम नगरपालिकाले २ दिने परिचय पत्र वितरण कार्यक्रमको आयोजना गरी परिचय पत्र वितरण गरेको हो ।
मंगलबार वडा नम्बर १ देखि ७ सम्मका सेवाग्राहीहरुलाई नगरकार्यपालिकाको कार्यालयमा र बुधबार ८ देखि १४ नम्बर वडका सेवाग्राहीहरुलाई कटारी ११ स्थित नगर सम्पर्क कार्यालय वेतेनीबाट परिचय पत्र वितरण गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल किरातीका अनुसार परिचय पत्र पाएकाहरुलाई पञ्जिकरणमा नामावली चढाईनेछ ।
उनीहरुलाई परिचय पत्र अनुसार सरकारवाट पाईने सेवा सुविधाको लागि प्रकृया सुरु हुने समेत प्रशासकीय अधिकृत किरातीले बताउनुभयो । कार्यक्रममा क वर्गका ७ जना , ख वर्गका ५८ जना , ग वर्गका ११ जना र घ वर्गका १ जना गरी ७७ जनालाई परिचय पत्र वितरण गरिएको हो ।
नगरपालिकाको महिला तथा वालवालिका शाखाको संयोजनमा कार्यक्रमको आयोजना गरिएको हो । अपाङ्गता समितिका पदाधिकारीहरु , कटारी अस्पत्तालका स्वास्थ्यकर्मी , स्थानीय समन्वय समितिका पदाधिकारीहरु , प्रहरी लगायतको सहकार्यमा परिचय पत्र वितरण गरिएको हो ।
परिचय पत्र पाएपछी अपाङ्गता भएका व्यक्तिहरुले खुसी व्यक्त गरे । अपाङ्गता भएपनि परिचय पत्र नहुँदा सेवा सुविधा पाउन नसकेकाहरुले परिचय पत्र पाएपछी सेवा सुविधा पाउन सक्ने भन्दै खुसी व्यक्त गरेका हुन् ।


जनता भ्वाइस 







