जन्ताभ्वाईस सम्बाददाता
५ मंसिर , सोमबार , २०७९
कटारी/ डिभिजन बन कार्यालय कटारी (त्रिवेणी)ले लोपोन्मुख गिद्दको उद्धार गरेको छ । कार्यालयका प्रमुख डिभिजन बन अधिकृत विष्णुलाल घिमिरेका अनुसार कटारी नगरपालिकाको वडा नम्बर १ स्थित कालिखोलामा गएको कार्तिक १८ गते विरामी अवस्थामा फेला परेको गिद्दको उद्धार गरिएको हो ।
गिद्दलाई कार्यालयमा ल्याई उपचार गरी आज कटारीकै बन क्षेत्रमा छोडिएको थियो । ‘गिद्द लोपोन्मुख पंक्षी हो , यसलाई प्राकृतिक कुचिकारका रुपमा समेत लिईन्छ ।’प्रमुख घिमिरेले भन्नुभयो –‘यसले खाना पाउन छाड्यो , ठूला सिमलका रुख मासिए जसका कारण गिद्द लोप हुँदै छ । ’
मरेका पशुपंक्षीको सिनोलाई आहाराको रुपमा गिद्धले प्रयोग गर्ने गर्दछ । तर पछिल्लो समयमा बाहिर सिनो फाल्ने चलन पनि कम हुँदै गएका कारण पनि गिद्ध लोप हुन लागेका हुन् । पशुमा प्रयोग गरिने डाइक्लोफेनिक औषधिले पनि गिद्ध लोप हुन थालेको जानकारहरु बताउँछन् ।
अहिले विश्वभर २३ प्रजातीका गिद्ध पाइन्छन् । त्यसमध्ये दक्षिण एशियामा ९ र नेपालमा ८ प्रजातीका गिद्ध पाइन्छन् । नेपालमा पाइने ८ प्रजातीका गिद्धमा सानो खैरो, डंगर, सुन, गोब्रे, राज, हिमाली, खैरो र हाडफोर रहेका छन् ।


जनता भ्वाइस 







