images
images

गठबन्धनलाई पन्छाएर ३० वर्षमै प्रदेश सभा छिर्ने दाउमा जिवनाथ दाहाल

जन्ताभ्वाईस सम्बाददाता
१ मंसिर , विहिबार , २०७९
कटारी /३० वर्षको युवा अवस्थामै प्रदेश नम्बर १ को प्रदेश सभामा सदस्य बन्ने आकांक्षाका साथ उदयपुरको क्षेत्र नम्बर २ प्रदेश सभा (ख)मा एमालेबाट जिवनाथ दाहाल चुनावी मैदानमा छन् । भर्खर ३० वर्ष टेक्दै गरेका दाहाल पहिलो पटक चुनावी अनुभवका साथ प्रदेश सभामा जित निकाल्न सके कान्छा सदस्य बन्ने दौडमा छन् ।
कटारीबाट जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै राजनीतिमा पनि सकृय युवा हुन् जिवनाथ दाहाल । समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत दाहालकोे राजनीतिक यात्रा २०६४ देखि सुरु भएको थियो । कटारी , ४ स्थायी घर भएका दाहालको उमेद्वारीले नेकपा एमाले भित्रको संसदिय राजनीतिमा नयाँ युवा पुस्ताको उदय हुने सम्भावना छ ।
२०६४ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वविवियु )प्रारम्भिक कमिटी कटारीबाट राजनीति थालेका दाहालले त्यसपछी क्रमश अनेरास्ववियुको क्षेत्रीय कमिटी अध्यक्षहुँदै उदयपुर जिल्लाको उपाध्यक्ष र केन्द्रिय कमिटी सदस्यसम्मको यात्रा गरेका छन् ।
दाहालले यस क्षेत्रमा विभिन्न सामाजिक कामहरु गर्दै आएका छन् ।‘समाजमा परेका अप्ठ्यारा असजिलोहरुमा सकेको सहयोग गरेको छु ।’दाहालले भने –‘अझ शसक्त भएर यस क्षेत्रको सवैखाले विकासका लागि लड्नुपर्छ भन्ने मान्यताले उमेद्वारी दिएको हुँ ।’ पछिल्लो समय युवाहरुलाई रोजगारी दिने , संगठित गर्ने , जनचेतनाको विकास गर्ने , सिप विकास गर्ने काममा तल्लिन युवा दाहाल जितको दाबेदार उमेद्वार हुन् ।
यस क्षेत्रका हरेक गाउँको माटोको सुगन्धले परिचित दाहाललाई यहाँको समस्या बारेमा राम्रोसँग थाहा छ ।‘हरेक वस्तीहरुको अनेकन समस्याहरु छन् यसलाई समाधान गर्ने योजना बनाएका छु ।’दाहालले थपे –‘यसपटक जनताले मलाई काम गर्ने ठाउँमा पुराउने आशामा छु । ’
दाहालले आफु प्रदेश सभामा सम्भवत कान्छा सदस्य बन्ने दावी गरे । ‘अध्यक्ष ओलीसँग पनि फोनमा कुरा भयो । ’दाहालले भने –‘एमालेका तर्पmबाट कान्छा प्रदेस सभा सदस्यको उमेद्वारी दिएको भन्दै विजयी भएर कान्छा सदस्य बन्न शुभकामना दिनुभएको छ । ’
कडा प्रतिष्पर्धा बाधक सत्तागठबन्धन
दाहाललाई चुनाव जित्न त्यति सहज भने छैन् । दाहालको प्रदेश सभा सदस्य बन्ने यात्राको मूख्य प्रतिष्पर्धि सत्तागठबन्धनबाट उम्मेद्वारी पाएका काँग्रेसका रामकुमार खत्री हुन् । निर्वाचन अधिकृतको कार्यालय कटारीका सहायक निर्वाचन अधिकृत देवराज भट्टराईका अनुसार यस प्रदेश सभामा ७ जनाको उम्मेदवारी परेको छ । जसमा दाहाल र खत्री मूख्य प्रतिष्पर्धि हुन् ।
खत्री पनि भर्खर ४२ वर्ष पुग्दैछन् , यसर्थमा दुई युवाको टक्कर यस प्रदेश सभामा छ । खत्री अघिल्लो प्रदेश सभामा पनि उमेद्वार थिए । २०७४ मा एमालेकै कलाघलेसँग खत्री ४ हजार ४ सय ८३ मतले पराजित भएका थिए । तर त्यतिवेला एमालेसँग भएको वामगठबन्धको माओवादी केन्द्र र एमालेसँगै फुटेर गएको एकीकृत समाजवादी खत्रीको पक्षमा छ ।
झिनो अन्तरको अंकगणित
यस प्रदेश सभामा ताप्ली गाउँपालिका र कटारी नगरपालिका रहेको छ । ताप्ली गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा गठबन्धनबाट माओवादी केन्द्रका ढुंगाराज विश्वकर्माले एमालेका बाबुराम राईलाई ३८ मतको झिनो मतान्तरले मात्रै विजयी भएकाले त्यहाँ एमालेपनि उत्तिकै प्रतिष्पर्धा देखिन्छ । त्यहाँ उपाध्यक्षमा भने गठबन्धनबाट उमेद्वार बनेकी काँग्रेसकी धनमाया मगरले १ हजार २ सय ८० मतान्तरले एमालेकी मानकुमारी थापालाई पराजित गरेकी थिईन् ।
त्यसैगरी कटारी नगरपालिका सत्तागठबन्धनका राजेशचन्द्र श्रेष्ठले मेयरमा जित हात पार्दा एमालेका ज्ञानेन्द्र श्रेष्ठ भन्दा ७ सय २ मत मात्रै बढी पाएका थिए । यहाँ उपमेयरमा एमालेकी गिता खड्काले गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जिल्ला अध्यक्ष समेत रहेका विनोद कटुवाल दिवशलाई २ हजार ५ सय ९२ को फराकिलो मतले पराजित गरेकी थिईन् ।
कटारी नगरपालिकामा १४ वडा रहेका छन् जसमा एमालेले सत्तागठबन्धनसँग प्रतिष्पर्धा गर्दा ७ जना र वडाध्यक्ष जितेर गठबन्धनसँग बराबर गरेको छ भने मेयर गुमाएको एमाले उपमेयरमा फराकिलो मतान्तर सहित जितमा छ । यसकारण पनि दुई युवाको टक्करमा कसले बाजी मार्छ आकंलन गर्न सकिने अवस्था छैन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार यस क्षेत्रको कटारी नगरपालिकामा ४० हजार १ सय १५ र ताप्ली गाउँपालिकामा ९ हजार ९ सय ५९ गरी जम्मा ५० हजार ७४ मतदाता रहेका छन् ।